प्रशासनले मार्ने योजना बनाएको मकुना हात्ती मारिएको आशङ्का, शव नजिकै भेटियो तार

इटहरी : कोस टप्पु वन्यजन्तु आरक्षमा रहेको मकुना हात्ती मृत फेला परेको छ। आरक्ष कार्यालय नजिकको धान बारीमा आइतबार बिहानै मकुना मृत फेला परेको हो।
आरक्ष कार्यालयका अनुसार १० वर्षको मकुनाको आक्रामक हात्तीको रूपमा चिनिन्छ। मकुनाको आक्रमणबाट मध्यवर्ती क्षेत्रमा १६ जनाको ज्यान गएको छ।
हात्तीको स्वाभाविक मृत्यु भएको हो या हत्या गरिएको हो सो भने खुल्न सकेको छैन। घटनास्थलमा आरक्ष प्रशासन र नेपाली सेनाको टोलीले अनुसन्धान अगाडी बढाएको छ। मृत हात्ती नजिकै नाङ्गो तार भेटिएकाले करेन्ट लगाएर हत्या गरिएको हुनसक्ने आरक्षका वार्डेन अशोक रामले बताए।
केही समय अगाडि नजिकका बस्तीमा निस्किएर स्थानीको ज्यान लिएको भन्दै सुनसरी प्रशासनले हात्ती मार्ने योजना बनाएको थियो। तर हात्ती नियन्त्रण गर्नुपर्ने तर मार्न नहुने भन्दै विरोध भएपछि प्रशासन निर्णयबाट पछाडि हटेको थियो।
केही दिन अगाडी आरक्ष कार्यालयमा भएको एक कार्यक्रममा कोसी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले हात्ती मार्ने अधिकार दिनुपर्ने बताएका थिए।
मकुना दाह्रा नभएको कोश टप्पुको भाले हात्ती हो। आरक्ष कार्यालयले नै दाह्रा नभएको मकुनालाई आफ्नो क्षेत्रको नायकको रूपमा स्वीकारेको वार्डेन रामले बताए।
असोज १७, २०७८ आइतबार १६:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।