आईओसीले पठायाे नयाँ मूल्यसूची, पेट्राेलियम पदार्थकाे मूल्य बढ्न सक्ने

काठमाडाैंः नेपाल आयल निगमलाई भारतकाे इन्डियन आयल कर्पोरेसन (आइओसी)ले नयाँ मूल्यसूची पठाएकाे छ। अक्टोबर १ मा आइओसीबाट प्राप्त मूल्यसूचीका आधारमा पेट्राेलियम पदार्थकाे मूल्यवृद्धि हुन सक्ने भएकाे छ।
मूल्यसूचीका आधारमा १५ दिनमा इन्धन बिक्रीबाट निगमलाई एक अर्ब ५० करोडभन्दा बढीकाे नोक्सान हुने भएकाले पेट्राेलियम पदार्थकाे मूल्य बढ्ने आशंका गरिएकाे छ।
आइओसीले पठाएको नयाँ मूल्य र नेपालभित्र लाग्ने कर तथा अन्य विभिन्न लागत जोड्दा निगमलाई प्रतिलिटर पेट्रोलमा एक सय ३९.१८ रुपैयाँ, डिजेलमा एक सय २०.०१ रुपैयाँ, मट्टितेलमा ९३.९४ रुपैयाँ, आन्तरिक उडानमा प्रयोग हुने हवाई इन्धनमा ८४.०७ रुपैयाँ, बाह्य उडानमा प्रयोग हुने हवाई इन्धनमा ७६.४४ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर एक हजार ९ सय ६१.८८ लागत पर्ने देखिएको छ।
निगमले पछिल्लो समय गत भदौ ७ गते पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको थियो। जसअनुसार प्रतिलिटर पेट्रोलको एक सय ३०, डिजेल र मट्टितेलको एक सय १३, आन्तरिक हवाई इन्धनको ८६ र खाना पकाउने ग्यास प्रतिसिलिन्डर एक हजार ४ सय ५० तोकिएको छ।
साे मूल्यका आधारमा अहिले निगमलाई प्रतिलिटर पेट्रोलमा ९.१८ रुपैयाँ र डिजेलमा ७.०१ रुपैयाँ नाेक्सान भइरहेकाे छ।यस्तै खाना पकाउने ग्यास प्रतिसिलिन्डरमा ५ सय ११.८८ रुपैयाँ नोक्सानको अवस्था छ। यही मूल्यमा बिक्री गर्दा निगमलाई १५ दिनमा मात्रै रु एक अर्ब ५० करोड ७३ लाख नोक्सान हुने प्रक्षेपण गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए।
उनका अनुसार निरन्तरको नोक्सानीले निगमको वित्तीय अवस्था धरासायी बन्दै गएको छ। “अन्तर्राष्ट्रिय मूल्य र आन्तरिक कर तथा लागतले निगमको लागत मूल्य बढ्दै गएको छ, तर लागत मूल्यभन्दा कम मूल्यमा इन्धन बेच्नुपर्दा नोक्सानी बढ्दै गएको छ”, प्रवक्ता उपाध्यायले भने, “यसरी नोक्सानी बढ्दै जाँदा निगम वित्तीयरूपमा धरासायी हुँदै जान्छ, त्यसैले पनि निगम मूल्य समायोजन गर्नैपर्ने बाध्यतामा छ।”
असोज १६, २०७८ शनिबार १९:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।