बिराज र ली मान्सन च्यासल यूथ क्लबमा अनुबन्ध

बिराज र ली मान्सन च्यासल यूथ क्लबमा अनुबन्ध

क्लबले मङ्गलवार प्राविधिक निर्देशक ली मान्सन र नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान बिराज महर्जनसँग अनुबन्ध सम्झौता समेत गरेको छ।

प्रायोजन सम्झौता पत्रमा यूक्यानका तर्फबाट सीटीएल कम्पनी प्रालीका प्रबन्ध निर्देशक राजेन महर्जन र च्यासल यूथ क्लबका तर्फबाट अध्यक्ष रमेश व्यञ्जनकारले हस्ताक्षर गरेका थिए।

सम्झौताअनुसार सीटीएलले क्लबलाई आवश्यक खेल सामाग्री उपलब्ध गराउनेछ। त्यस्तै च्यासल यूथ क्लबले सिजनभर यूक्यान ब्रान्डको सामाग्री प्रयोग गर्नेछ। 

बिराज र ली मान्सनसँग अनुबन्धन

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) एकेडेमीका उत्पादन बिराज महर्जनसँग क्लबले अनुबन्ध गरेको छ। नेपाली राष्ट्रिय फुटबल टिमबाट ७३ खेल खेलिसकेका उनले सन् २००८ मा पोखरामा सम्पन्न पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलबाट नेपालको राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए।

बिराजले नेपालका लागि १८ खेलमा कप्तानी गरिसकेका छन्। बिराजले यसअघि सङ्कटा, एनआरटी, मनाङ मर्स्याङ्दी, थ्री स्टार र मच्छिन्द्र फुटबल क्लबबाट सहिद स्मारक ‘ए’ डिभिजन लिग खेलिसकेका छन्। 

स्कटल्यान्डका ली मान्सन पछिल्लो २५ वर्ष देखी फुटबल प्रशिक्षणमा सक्रिय छन्। उनी पछिल्लो समय लाओस् एफसीमा प्राविधिक निर्देशकका रूपमा आबद्ध थिए। 

उनीसँग फिलिपिन्सको पुरुष यु–२३ र महिला राष्ट्रिय टोली सम्हालिसकेको अनुभव छ। मान्सनले एएफसी च्याम्पियन्स कप खेलिसकेको टोली ग्लोबल एफसीमा ६ वर्ष मुख्य प्रशिक्षक भएर काम गरेका थिए। 

असोज १२, २०७८ मंगलबार १५:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।