सार्वजनिक जग्गामा यातायात कार्यालय स्थापना गर्न पहल

सार्वजनिक जग्गामा यातायात कार्यालय स्थापना गर्न पहल

काठमाडाैंः कागेश्वरी मनोहरा नगरपालिका–४ काे सार्वजनिक जग्गामा यातायात कार्यालय स्थापना गर्न पहल सुरु भएको छ। कार्यालय स्थापनाका लागि नगरपालिका, वडा कार्यालय र स्थानीयबासीसँग छलफल थालिएको छ।

प्रदेश सभा सदस्य रामेश्वर फुयाँलकाे सक्रियतामा कार्यालय स्थापनाका लागि पहल थालिएकाे छ। “नगरपालिकाले जग्गा उपलब्ध गराए ६ महिनाभित्र प्रिफ्याब भवन निर्माण गछौँ, ट्रायल सेन्टरसहितको यातायात कार्यालय स्थापना गर्न प्रदेश सरकारले बजेट विनियोजन गरिसकेको छ”, उनले भने। 

नगरपालिकाले जग्गा व्यवस्थापन गर्न नसके काठमाडौं उपत्यकाको उत्तरपूर्वी भेगकै अन्य नगरपालिकामा यातायात कार्यालय स्थापना गरिने उनकाे भनाइ थियो। कागेश्वरी मनोहरा नगरपालिकाका उपप्रमुख बिन्दु सिम्खडा पुडासैनीले जग्गा व्यवस्थापनका लागि प्रक्रिया अघि बढाइएको बताइन्।

गोकर्णेश्वर नगरपालिका–४ का वडाध्यक्ष श्रीकुमार श्रेष्ठले कागेश्वरीमा यातायात कार्यालय स्थापना गर्न जग्गाको व्यवस्था नभए आफ्नो वडामा पहल गर्न तयार रहेको बताएका छन्।

साे क्षेत्रमा कार्यालय स्थापना गर्न सकेमा बूढानीलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी मनोहरा, शङ्खरापुरका साथै यस क्षेत्रमा सीमा जोडिएका नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र भक्तपुरका बासिन्दा लाभान्वित हुने देखिन्छ।

असोज ९, २०७८ शनिबार २१:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।