पञ्चशील सहकारीको नाफा ६ करोड, अशोकको नेतृत्वमा नयाँ समिति

पञ्चशील सहकारीको नाफा ६ करोड, अशोकको नेतृत्वमा नयाँ समिति

ललितपुर :  कुमारीपाटीमा रहेको पञ्चशील बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले कारोबार रकम २ अर्ब ६७ करोड पूर्याएको छ। सहकारीको २१ औँ साधारण सभामा दिएको जानकारी अनुसार बचत (निक्षेप) तर्फ १ अर्ब ७४ करोड ५० लाख पुगेको छ।

संस्थाले वार्षिक कारोबार २ अर्ब ६७ करोड ६२ लाख र जगेडा कोष तथा अन्य कोष गरी जम्मा रु २३ करोड ४३ लाख पुगेको साधारण सभामा जानकारी दिइयो।

असोज ३ देखि ९ सम्म२१औँ वार्षिक साधारण सभा सहकारी विभागको निर्देशन अनुसार विद्युतीय माध्यमबाट भएको थियो।

कार्यक्रममा संस्थाका कार्यकारी अध्यक्ष राजु खतिवडाले सञ्चालक समितिको तर्फबाट आ.व. २०७७-०७८ को वार्षिक प्रगति प्रतिवेदन तथा आ.व. २०७८-०७९ को लागि नीति तथा कार्यक्रम, लक्ष्य र बजेट प्रस्तुत गरेका थिए।

सहकारीको आर्थिक वर्ष ०७७-०७८ मा शेयर पुँजीतर्फ १४ करोड ७६ लाख १८ हजार ७ सय कायम भएको छ। संस्थाले गत आ.व.०७७-०७८ मा ६ करोड ५४ लाख ७० हजार खुद नाफा आर्जन गरेको बताइयो।

संस्थाले आ.व. ०७७-०७८ मा १ करोड ८९ लाख ८१ हजार ५ सय ३५ रुपैयाँ ५१ पैसा आयकर तथा अन्य विभिन्न शीर्षकहरूमा राजस्वमा योगदान गरेको जानकारी दिइएको थियो।

अन्य सहकारीको बिचमा नमुना सहकारीको रूपमा आफूलाई स्थापित गर्न सफल भएको संस्थाका कार्यकारी अध्यक्ष खतिवडाले बताएका थिए।

प्रविधिमूलक कारोबार को वातावरण उपलब्ध गराउने उद्देश्य लिई संस्थाले गत आ.व. २०७७-०७८ देखि  आफ्नै संस्थागत भवनबाट शुल्क रहित एटिएमको सुविधा दिई रहेको अध्यक्ष खतिवडाले जानकारी दिए।

अशोकको नेतृत्वमा नयाँ समिति
आ.व. ०७६-०७७ मा कोभिड–१९ का कारणले स्थगित भएको संस्थाको सञ्चालक र लेखा समितिको निर्वाचन कार्यक्रमलाई  यस आ.व. ०७७-०७८ मा  निर्वाचन सम्पन्न गरेको छ।

निर्वाचित सञ्चालक समितिमा अध्यक्ष अशोक बज्राचार्य ,उपाध्यक्ष देवेन्द्र प्र. श्रेष्ठ ,सचिव घनश्याम धमला, कोषाध्यक्ष राम प्र. गिरी  , सदस्य जीवन देवी शाक्य , सदस्य राजेन्द्र शाक्य, सदस्य भोलानाथ ढुङ्गाना निर्विरोध नयाँ कार्य समिति चयन भएको छ।

लेखा तथा सुपरिवेक्षण समितिमा संयोजक शेषराज दाहाल, सदस्यमा रामप्रसाद निरौला र सदस्य रुपेश भट्टराई निर्विरोध चयन भएका छन् ।

असोज ९, २०७८ शनिबार १९:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।