अफगानिस्तानबाट ६ लाखभन्दा बढी विस्थापित

एजेन्सीः अफगानिस्तानबाट ६ लाखभन्दा बढी व्यक्ति विस्थापित भएकाे संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी निकायले जनाएको छ।साे निकायका अनुसार यसवर्ष अफगानिस्तानमा हिंसाका कारण ६ लाख ३५ हजार जनाभन्दा बढी व्यक्ति विस्थापित भएका हुन्।
तीमध्ये गत महिना मात्र कम्तीमा १२ हजार जना विस्थापित भएर राजधानी काबुल आएका बताइएको छ। यसरी काबुल आएकाहरुमध्ये अधिकांश अफगानिस्तानको पञ्जसिरबाट आएका हुन्। पछिल्लो समयमा अफगानिस्तानमा तालिबानहरूले सुरु गरेको सत्ता कब्जा र त्यसपछि तालिबान र सेनाबीचको भिडन्तका कारण विस्थापित हुन पुगेका बताइएको छ।
उता शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयोगले पनि हालैमात्र अफगानिस्तानको अवस्थाको बारेमा विश्व समुदायको ध्यानाकर्षण गराएको थियो। अफगानिस्तानकाे अवस्था दिन प्रतिदिन खराब हुँदै गएको भन्दै सो निकायले अफगानिस्तानका नागरिकहरूका लागि खाना, औषधि, बास तथा अन्य चिजहरू चाहिएको भन्दै एक विज्ञप्ति प्रकाशन गरेर जानकारी गराएको थियो।
असोज ५, २०७८ मंगलबार १८:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।