कैलाली कारागारका ६ जना कैदीको सजाएँ मिनाहा

धनगढी : संविधान दिवसको अवसरमा पारेर कैलाली कारागारमा रहेका ६ जना कैदीको सजाएँ मिनाहा गरिएको छ।
एक महिलासहित ६ जना कैदीको सजाएँ मिनाहा गरिएको जिल्ला कारागार कैलालीका निमित्त जेलर वीरेन्द्र बहादुर बोहराले जानकारी दिए।
सजाएँ मिनाहा हुनेमा कैलालीको (साबिक बलिया गाविस) वडा नम्बर ८ की खेमाकुमारी अर्याल देवकोटा, लम्कीचुँहा नगरपालिका–९ का चक्रबहादुर चौधरी, गौरीगङ्गा नगरपालिका–६ का प्रेमसिंह साउद र धनगढी उपमहानगरपालिका–८ का रामप्रसाद राना छन्।
यस्तै कञ्चनपुरका राहुल भनिने कृष्णकुमार चौधरी र पर्वत जिल्लाका कृष्ण शर्मा तिवारीको कैद सजाय मिनाहा भएको कैलाली कारागारका निमित्त जेलर बोहराले जानकारी दिए।
उनीहरू मध्ये चक्र बहादुर र प्रेमसिंह सवारी ज्यान मुद्रामा कैद भुक्तान गरिरहेका थिए। अन्य चार जना कर्तव्य ज्यान मुद्दा (हत्या) मा कैद सजाएँ काटिरहेका थिए।
५० प्रतिशत कैद भुक्तान गरेका ६ जनाको बाँकी कैद मिनाहा गरिएको कैलाली कारागारका निमित्त जेलर बोहराले बताए। एक वर्ष कैद सजाएँ तोकिएकी देवकोटाले ६ महिना चार दिन, तीन वर्ष कैद सजाएँ तोकिएका चक्र बहादुरले एक वर्ष ६ महिना दुई दिन, तीन वर्ष कैद सजाएँ तोकिएका प्रेमसिंहले एक वर्ष ६ महिना चार दिन र १२ वर्ष कैद सजाएँ तोकिएका रामप्रसादले ६ वर्ष एक महिना नौ दिन कैद भुक्तान गरेका छन्।
यसै गरी २० वर्ष कैद सजाएँ तोकिएका कृष्णकुमारले ११ वर्ष ६ महिना २६ दिन र २० वर्ष कैद सजाय तोकिएका कृष्णले १० वर्ष एक महिना ६ दिन कैद भुक्तान गरेको निमित्त जेलर बोहराले जानकारी दिए। आचरण र बानी व्यवहारमा सुधार आएपछि उनीहरूको कैद सजाय मिनाहा गरिएको बताइएको छ। हाल जिल्ला कारागार कैलालीमा ४९३ जना कैदी बन्दी रहेका छन्।
असोज ३, २०७८ आइतबार १३:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।