६० जना क्षमताको बाल सुधार गृहमा ११८ जना बालबालिका 

६० जना क्षमताको बाल सुधार गृहमा ११८ जना बालबालिका 

३ वर्ष देखि सञ्चालनमा आएको गैर कानुनी काम गरेका बालबालिकालाई सुधार गर्ने उद्देश्यले सञ्चालित गृहमा  क्षमता भन्दा दोब्बर सङ्ख्यामा बालबालिका राखिएको हो। मनोरञ्जनात्मक वातावरणबाट उनीहरूलाई सकारात्मक बाटोमा लैजानुपर्ने बाल सुधार गृहमा ठाउँ अभावमा बालकहरू कोठाभित्रै थुनिएर बस्नुपर्ने बाध्यता छ।

सुधार गृहमा राखिएका बालकहरूलाई तातो चिसो पानी, खाजा नास्ता, पठन पाठन राम्रो छैन। बालमैत्री वातावरण, मन परामर्श सेवा र आउट डोर खेलकुदको सुविधा छैन। खुल्ला स्थान छैन, ठाउँ निकै साँघुरो छ।

सुधार गृहमा १८ वर्ष मुनीका ४ विदेशीसहित १७ जिल्लाका ११८ जना बाल विजयीलाई राखिएको छ। उपचार सेवा राम्रो नहुँदा पछिल्लो समय उनीहरूमा रुघाखोकी, ज्वरो आउने, छाला रोग, खेलकुद नहुँदा हात–खुट्टा दुख्ने समस्या छ।

संयुक्त राष्ट्र सङ्घले पारित गरेको बाल अधिकार सम्बन्धी महासन्धि सन् १९८९ र नेपालको बाल बालिका सम्बन्धी ऐन, २०७५ ले बाल बालिका सम्बन्धी मुद्दा अदालतमा  दर्ता भएको १ सय २० दिन भित्र फैसला गर्नुपर्ने व्यवस्था गरेको छ। तर, सुधार गृहमा राखिएका कतिपय बाल विजयीको दुई–तीन वर्षसम्म पनि मुद्दा फैसला हुन सकेको छैन।

बाल सुधार गृहका प्रमुख सुभद्रा गौतमले बाहिर निस्कने ठाउँ नै नहुँदा उनीहरूलाई समस्या हुने गरेको बत्ताइन्। अधिकांश चोरी, जबरजस्ती करणी, लागु औषध दुर्व्यसनी लगायतका मुद्दाका बाल विजयीहरू गृहमा छन्। 

सरकारले आवश्यक बजेट नदिँदा सुधार गृह व्यवस्थित हुन नसकेको उनले बत्ताइन्। शिक्षा, स्वास्थ्य, पौष्टिक आहार, माया, अनुकूल वातावरण जस्ता अधिकारबाट गृहका बाल बालिका  वञ्चित छन्। 

असोज १, २०७८ शुक्रबार १०:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।