१६ वर्षीया ‘एक दिने’ गाउँपालिका अध्यक्षले गरिन् यी तीन निर्णय

१६ वर्षीया ‘एक दिने’ गाउँपालिका अध्यक्षले गरिन् यी तीन निर्णय

इटहरीः मोरङको बुढीगंगा गाउँपालिकाकी एक दिने अध्यक्ष सुस्मिता ऋषीदेवले बालविवाहविरुद्ध अभियान चलाउने निर्णय गरेकी छिन्। ५७औँ राष्ट्रिय बाल दिवसको अवसरमा गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझीले १६ वर्षीया सुस्मितालाई एक दिन नेतृत्त्व हस्तान्तरण गरेका थिए। 

सुस्मिताले एक दिने कार्यकालमा तीन वटा निर्णय गरेकी छिन्। उनले पहिलो निर्णयस्वरूप स्थानीय शासनमा बालबालिकाको भूमिका विषयक अभिमुखीकरण कार्यक्रम गर्नका लागि ५० हजार विनियोजन गरेकी छिन्। 

यस्तै उनले बालविवाह न्यूनीकरणका लागि पालिकाभित्र प्रचारप्रसार तथा चेतनामूलक सन्देश प्रवाह गर्ने सम्बन्धमा पनि निर्णय गरेकी छिन्। सुस्मिताले बुढीगंगा गाउँपालिकाभित्रका प्रत्येक पूर्वाधारलाई बालमैत्री बनाउन सुरुआत गर्ने पनि निर्णय गरेकी छिन्। उनले गरेका निर्णयहरू कार्यपालिका बैठकले अनुमोदन गर्ने अध्यक्ष माझीले जानकारी दिए। 

राष्ट्रिय बाल अधिकार परिषद्को सहजीकरण तथा बाल हेल्पलाइन र प्रदेश बालबालिका खोजतलास तथा संरक्षण केन्द्रको समन्वयमा उनी अध्यक्ष नियुक्त भएकी हुन्। साँझ ५ बजे बसेको गाउँपालिकाको समीक्षा बैठकले पुनः माझीलाई कार्यभार हस्तान्तरण गरेको छ।

भदौ २९, २०७८ मंगलबार १७:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।