हत्या अभियोगका दोषी मुख्यमन्त्रीको स्वकीय सचिव !

हत्या अभियोगका दोषी मुख्यमन्त्रीको स्वकीय सचिव !
पत्रकार सम्मेलनमा प्रचण्ड थैबको परिवार र इन्सेटमा विक

बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले हत्याको अभियोगमा सजाएँ पाएकालाई स्वकीय सचिव नियुक्त गरेको भन्दै मृतक परिवारले आपत्ति जनाएको छ।

प्रचण्ड थैबको हत्या अभियोगमा जेल सजाएँ भोगेर आएका सुजित विकलाई स्वकीय सचिव नियुक्ति गरेकोमा थैब परिवारले पत्रकार सम्मेलन गरेर आपत्ति जनाएको हो। उनीहरुले विकलाई स्वकीय सचिवबाट हटाउन मुख्यमन्त्रीसँग माग गरेका छन्।

स्वर्गीय थैवकी आमा सुकन्या थैवले विकलाई सामान्य जीवनयापनको अधिकार भए पनि राज्य कोषबाट तलब दिने गरी नियुक्ति हुँदा परिवारमा पिडा भएको बताइन्।

‘१३ वर्ष भयो घटना भएको, हामीले त्यो घटना बिर्सेर सामान्य जीवनयापन गर्न थालेका थियौँ। तर सुजित नियुक्ति भएको खबरले हामीलाई मानसिक तनाव उत्पन्न भयो’, उनले भनिन्।

उनले मुख्यमन्त्री केसीले अरू कुनै योग्य ब्यक्ति नभेटेर हत्या अभियोगमा जेल सजाएँ भोगेको व्यक्तिलाई स्वकीय सचिव बनाएको बताइन्। ‘यो नियुक्तिले प्रदेशको  प्रतिष्ठामा आँच आउने काम भयो। थैवको मृत्यु हुँदा आन्दोलन भयो, सुजित जेल गयो। पछि जेलबाट छुटेपछि फेरी यो ठाउँमा आएर स्वकीय सचिव भयो। यसले उ बेला आन्दोलनको नेतृत्व गर्नेलाई समेत चुनौति दिएको छ’, उनले भनिन्। 

वाईसियल रुपन्देहीको अध्यक्ष रहेकै बेला विकले २०६५ सालमा एमाले कार्यकर्ता प्रचण्ड थैवको हत्या गरेका थिए। हत्या अभियोग लागेपछि जेल परेका उनी गत वर्ष रिहा भएका थिए।

स्वर्गीय थैवकी श्रीमती लक्ष्मी थैवले मुख्यमन्त्री जस्तो जिम्मेवार व्यक्तिले अपराधमा संलग्नलाई आफ्नो प्रमुख स्वकीय सचिव बनाउनु लज्जाको विषय भएको बताइन्। ‘एउटै पार्टी भएकाले मुख्यमन्त्रीलाई सुजितका बारेमा सबै थाहा थियो। थाहा हुँदा हुँदै पनि त्यस्ता व्यक्तिलाई किन स्वकीय सचिव बनाइयो?’ उनको प्रश्न थियो। विकको नियुक्तिले आफूहरूमा त्रास बढेको उनले बताइन्।

थैवकी दिदी सुषमा श्रेष्ठले बुटवलमै अपराध गरेर बुटवलमै राज्यको सम्पत्तिमा हाली मुहाली गर्ने गरी मुख्यमन्त्रीले नियुक्ति गर्नु पीडित परिवारलाई मात्रै नभएर बुटवलवासीलाई चुनौती भएको बताइन्। तत्कालीन जनमुक्ति सेनाका लडाकु विक नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग (वाईसिएल) रुपन्देहीका पुर्व अध्यक्ष हुन।

भदौ २८, २०७८ सोमबार १०:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।