चिकित्सक संघको मागः बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयमा चिकित्सकको दरबन्दी हुनुपर्ने

चिकित्सक संघको मागः बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयमा चिकित्सकको दरबन्दी हुनुपर्ने

काठमाडौंः बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयमा चिकित्सकको दरबन्दी हुनुपर्ने भन्दै नेपाल चिकित्सक संघले माग गरेको छ। आइतबार विज्ञप्ति जारी गर्दै संघले संघीय मन्त्रालय तथा अन्य प्रादेशिक मन्त्रालयमा नेतृत्त्वदायी भूमिका चिकित्सकबाटै हुने गरेकाले बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयमा भने चिकित्सकको दरबन्दी नै नराखी दरबन्दी तेरिज सार्वजनिक भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

संघले अविलम्ब चिकित्सक तथा स्वास्थ्यकर्मीकै नेतृत्त्वमा स्वास्थ्य मन्त्रालय सञ्चालन हुनुपर्ने माग अघि सारेको छ। 

यस्तै मेडिकल अधिकृतसहित विशेषज्ञ चिकित्सकहरूको दरबन्दी सुनिश्चित गरी महाशाखा, विभाग, शाखाको उचित व्यवस्था गर्ने गरी हाल प्रस्तावित दरबन्दी अविलम्ब सच्याउन संघले नेपाल सरकार तथा प्रादेशिक सरकारसमक्ष माग गरेको छ। 

स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रलाई प्राथमिकतामा राखी बागमती प्रदेशमा स्वास्थ्य मन्त्रालयको स्थापना गरेर केन्द्रीकृत शासन पद्धतिलाई विकेन्द्रीकृत गरी स्वास्थ्य सेवालाई सबैको पहुँचमा पुर्याउने प्रयास भने प्रशंसनीय भएको संघको ठहर छ।

भदौ २७, २०७८ आइतबार १५:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।