नारायणहिटीमा शासकीय र धार्मिक सङ्ग्रहालय निर्माण गरिने

काठमाडाैंः नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा शासकीय धार्मीक सङ्ग्रहालय बनाइने भएकाे छ। प्रतिनिधि सभामा आज चालु आर्थिक वर्षकाे बजेट पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले नारायणहिटी दरबारमा रामापिथेकसदेखि मुलुकको सम्पूर्ण कालखण्ड झल्किने ऐतिहासिक शासकीय सङ्ग्रहालय निर्माण हुने बताएका हुन्।
प्रस्तुत आर्थिक अध्यादेश प्रतिस्थापन विधेयकमा उल्लेख भएअनुसार योगमायादेखि हालसम्मका शहीद, नेपालको ऐतिहासिक जनआन्दोलन एवं जनयुद्ध र मधेश आन्दोलनलगायतमा त्याग तथा नेतृत्त्व गर्ने अग्रज राजनीतिज्ञको इतिहास समेट्ने गरी सङ्ग्रहालय निर्माण प्रारम्भ हुन लागेको हो।
सङ्ग्रहालय निर्माणका लागि आवश्यक बजेट विनियोजन गरिएको जनाइएको छ। नेपालको धर्म, संस्कृति, परम्परा प्रदर्शित हुने गरी धार्मिक पर्यटन प्रवर्द्धन गर्न धार्मिक सङ्ग्रहालय स्थापना गरिने प्रतिबद्धता पनि सरकारले बजेट वक्तव्यमा गरेको छ।
भदौ २५, २०७८ शुक्रबार २१:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।