अब सामाजिक सञ्जालबाट हुने आम्दानीमा एक प्रतिशत कर लाग्ने

काठमाडौँ : सरकारले सामाजिक सञ्जालमा श्रब्यदृष्य सामाग्री राखेर आम्दानी गरे त्यसमा एक प्रतिशत कर लाग्ने व्यवस्था गरेको छ।
युट्युब, फेसबुक र पछिल्लो समय टिकटकले समेत प्रयोगकर्तालाई भुक्तानी दिने गरेको छ। हालसम्म सामाजिक सञ्जालबाट हुने आम्दानीमा सरकारले कर लगाएको थिएन। शुक्रवार संसद्मा पेस भएको बजेट प्रतिस्थापन सम्बन्धी विधेयकमा व्यवसायमा संलग्न नरहेको कुनै बासिन्दा प्राकृतिक व्यक्तिले नेपाल बाहिर सफ्टवेयर वा यस्तै प्रकृतिको अन्य विद्धुतिय सेवा उपलब्ध गराए बापत समेत एक प्रतिशत कर लाग्ने छ।
यसै गरी सामाजिक सञ्जालमा श्रव्यदृष्य सामाग्री अपलोड गरे बापत विदेशी मुद्रामा भुक्तानी प्राप्त गरेको भए सम्बन्धित बैङ्क, वित्तीय संस्था तथा मनि ट्रान्सफर गर्ने संस्थाले त्यस्तो भुक्तानी प्रदान गर्दा प्राप्त रकमको एक प्रतिशतको दरले अग्रिम कर असुल गर्ने व्यवस्था गरिएको छ।
मुख्यत फेसबुकमा हालेको कन्टेन्ट र युट्युवको भिडियोको आधारमा यी दुबै कम्पनिले प्रयोगकर्तालाई निश्चित रकम भुक्तानी गर्दै आएको छ। भुक्तानी बैकिङ च्यानलबाट हुने गरे पनि यस अगाडि यी दुबै क्षेत्रबाट हुने आम्दानी करको दायरामा आएको थिएन।
यस अगाडिको सरकारले सामाजिक सञ्जाल नेपालमा समेत दर्ता हुनुपर्ने प्रावधान सहितको कानुन बनाउन खोजे पनि त्यो अगाडि बढ्न सकेको थिएन।
भदौ २५, २०७८ शुक्रबार २१:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।