कर्मचारीको भत्ता काटेर पाँच अर्ब जम्मा गरी कोरोना खोप किन्ने सरकारको योजना

कर्मचारीको भत्ता काटेर पाँच अर्ब जम्मा गरी कोरोना खोप किन्ने सरकारको योजना

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधका बिच संसद्मा पेस भएको बजेट सम्बन्धी प्रतिस्थापन विधेयकमा सरकारी भत्ताहरू काटेर कोरोना विरुद्धको खोप किन्ने कार्यक्रम राखिएको छ।

अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको विधेयकमा बैठक भत्ता, इन्धन, मर्मत, कर्मचारी तालिम खर्च, सीप विकास तथा जनचेतना तालिम र गोष्ठी सम्बन्धी खर्चमा १० प्रतिशत कटौती गरेर खोप खरिद गर्ने उल्लेख छ।

'खर्च कटौती गर्दा बचत हुन जाने पाँच अर्ब कोभिड १९ को खोप खरिदका लागि उपयोग गर्ने प्रबन्ध मिलाएको छु' विधेयकमा उल्लेख छ।

हालसम्म नेपालको कुल जनसङ्ख्याको १७ प्रतिशतले कोरोना विरुद्धको खोप लगाइसकेको तथा नेपालमा एक करोड ३३ लाख ५९ हजार खोप भित्रिएको र ३ करोड मात्रा प्राप्त हुने अवस्थामा रहेको शर्माले बताए।

बजेटमा कोरोनाका कारण रोजगारी र आय आर्जन गुमाएका अति गरिब र विपन्न पाँच लाख परिवारलाई राहत स्वरूप एक पटकका लागि प्रति घर परिवार १० हजार नगद अनुदान दिने उल्लेख छ।

भदौ २५, २०७८ शुक्रबार २०:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।