एमाले फुटेको होइन काँचुली फेरेको हो : पौडेल

एमाले फुटेको होइन काँचुली फेरेको हो : पौडेल

प्रेस चौतारी नेपाल रुपन्देहीले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले पार्टी हित विपरीत लागेकाहरूलाई काँचुली छाडेझैँ छाडिएको बताएका हुन्। ‘एमाले विभाजित हुन्छ र चिट्ठा पर्छ की भन्ने अपेक्षा नगरे हुन्छ । विभाजित भएको छैन। विभाजनका प्रयास सफल हुँदैनन्। केही साथीहरूलाई काँचुली छाडेझैँ छाडिएको हो’, उनले भने। 


पौडेलले नेकपा समाजवादीलाई पानीको फोका भएको संज्ञा समेत दिए। उनले कांग्रेस, माओवादीको टेकोमा सहारा खोजेको भए पनि अब  कसैले सहारा नदिने र त्यो केबल पानीको फोका बन्ने बताए।  आगामी निर्वाचनमा माधव नेपालको पार्टीलाई जमानत बचाउन समेत चुनौती दिए। ‘कसैको टेकोमा उभिन खोजे पनि यसको भविष्य छैन। म चुनौतीका साथ भन्छु स्थानीय तहको वडामा जमानत जोगाएर देखाउनुस्’, उनले भने।


उनले दाजु भाइ सित रिस उठेर आमा माथि बन्चरो हाने जस्तो काम माधव नेपालले गरेको आरोप लगाए। ‘पार्टी आमा हो, आमा माथि बन्चरो हान्ने काम भयो’, पौडेलले थपे, ‘दाजुभाइ सँग रिस उठेर आमालाई बन्चरो हान्नेलाई जनताले स्वीकार गर्दैनन्।’ 


उनले राजनीति दल सम्बन्धी अध्यादेश पास गरेर कानुनलाई निरन्तरता दिन सरकारलाई चुनौती दिए। ‘यो ऐन कायम रहे एमाले जस्तै आफ्नो पार्टी पनि विभाजन हुने भएकाले यो अध्यादेश सरकारले फिर्ता गर्नेछ,’ पौडेलले दाबी गरे, ‘यो मात्र एमाले विभाजनका लागि अध्यादेश आएको थियो। आँट र साहस छ भने अध्यादेश संसद् बाट पास गरेर देखाउनुस्।’ 

नेता पौडेलले एमसीसी बारे सरकारको आधिकारिक धारणा माग गरेका छन्। उनले एमसीसी संसदमा टेदुल भएपछि मात्र त्यस बारेमा पार्टीको धारणा आउने बताए।

त्यस्तै उनले आगामी निर्वाचनमा एमालेले ०७४ भन्दा राम्रो  परिणाम  ल्याउने  दाबी गरे। अध्यादेश ल्याएर अहिले एमाले प्रतिपक्षमा गए पनि आउने निर्वाचनमा मुख्य शक्ति बन्ने उनको दाबी थियो।


सभामुख अग्नि सापकोटा पदीय गरिमा भुलेर पार्टीको अमुक कार्यकर्ता जस्तो भएको उनले बताए। सभामुखले पदको दुरुपयोग गरेको पौडेलले आरोप लगाए।

भदौ २३, २०७८ बुधबार १०:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।