अर्थमन्त्रीको फोनको प्रभाव : नेप्सेमा १६१ अङ्कको वृद्धि

अर्थमन्त्रीको फोनको प्रभाव : नेप्सेमा १६१ अङ्कको वृद्धि

काठमाडौं : अर्थमन्त्रीले गर्भनरलाई फोन गरेर पुँजी बजारको विषयमा चासो राखेको सार्वजनिक भएपछि साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजारमा उछाल आएको छ।

हिजो भारी गिरावट आएको नेप्से यस दिन  १६१.९४ अङ्कले बढेर २९ सय ८९.७८ अङ्कमा पुगेको छ।

सूचक ५.७४ प्रतिशतले उकालो लागेको दिन कारोबारमा आएका सबै सूचीकृत कम्पनीको सेयर मूल्य बढेको छ। यो दिन २११ वटा कम्पनीको सेयर मूल्य बढ्दा ८ वटा कम्पनीको मात्रै सेयर मूल्य घटेको छ भने ५ वटा कम्पनीको सेयर मूल्य स्थिर छ।

सोमबारको कारोबारमा १ करोड ७८ हजार ६८ लाख १६६ कित्ता सेयर ९ अर्ब ८२ करोड ६२ लाख २२ हजार ८०६ रुपैयाँमा कारोबार भएको छ।

आज सबै उप समूह सकारात्मक देखिएका छन्। यस दिन डेभलपमेन्ट बैङ्क, हाइड्रोपावर र फाइनान्सको उपसूचकमा ९ प्रतिशत भन्दा धेरै बढेको छ। आज बैंकिङ ४ प्रतिशत, ट्रेडिङ ३.९६ प्रतिशत, होटल र पर्यटन ५.६३ प्रतिशत, म्युचुअल फन्ड १ प्रतिशत, इन्भेस्टमेन्ट ६ प्रतिशतले बढेको छ।

यस दिन ४ दर्जन कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ भने कुनैमा पनि नकारात्मक सर्किट लागेन।

साताको पहिलो दिन आइतबार सेयर बजारमा वर्षकै धेरै उतार चढाव देखिएको थियो। आइतबार नेप्से १०८.२६ अङ्कले गिरावट आएर २८ सय १८ दशमलव ७२ मा कारोबार बन्द भएको थियो।

सेयर धितो राखेर पाउने कर्जाको सीमा तोकेपछि  लगानीकर्ता समूहले राष्ट्र बैङ्कको विरोध गर्दै गभर्नरको राजीनामा माग गरेका थिए।जसका कारण सेयर बजारमा आइतबार भारी गिरावट देखिएको थियो।

 

तर, सोमबार अर्थमन्त्री शर्माले  पुँजी बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन गभर्नरलाई आग्रह गरेका छन्।  उनले कहाँ के सुधार गर्नुपर्ने हो त्यो गरेर पुँजी बजारको समस्या समाधान गर्न गभर्नरलाई निर्देशन समेत दिएका छन्।

 

जवाफमा गभर्नर अधिकारीले आवश्यक प्रक्रिया मिलाई परिस्थिति सहज बनाउन प्रयास गर्ने प्रतिबद्धता जनाएको स्रोतको भनाई छ।

 

भदौ २१, २०७८ सोमबार १५:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।