पुँजी बजारमा देखिएको समस्या समाधान गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं : शेयर बजारमा देखिएको पछिल्लो परिस्थितिका सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले परामर्श सुरु गरेका छन्।
राष्ट्र बैङ्कद्वारा जारी मौद्रिक नीति र निर्देशिकापछि पुँजी बजारमा देखिएको स्थितिका सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले सोमवार गभर्नर महाप्रसाद अधिकारीसँग टेलिफोन कुराकानी गरेका हुन्।
अर्थमन्त्री शर्माले कुराकानीका क्रममा पुँजी बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन आग्रह गरेका छन्। उनले कहाँ के सुधार गर्नुपर्ने हो त्यो गरेर पुँजी बजारको समस्या समाधान गर्न गभर्नरलाई निर्देशन दिएको अर्थमन्त्रालय स्रोतले जनाएको छ।
जवाफमा गभर्नर अधिकारीले आवश्यक प्रक्रिया मिलाई परिस्थिति सहज बनाउन प्रयास गर्ने प्रतिबद्धता जनाएको स्रोतको भनाई छ।
मौद्रिक नीति र शेयर धितो कर्जामा सीमा तोकेपछि शेयर बजारमा नकारात्मक असर परेको छ। कर्जामा सीमा तोकेपछि लगानीकर्ता यसको विरोधमा लागेका छन्।
बजारमा आएको उतार चढाव र लगानीकर्ताको दबाबका कारण मन्त्रीले समस्या समाधानका लागि गभर्नर अधिकारीको ध्यानाकर्षण गराएका हुन्।
भदौ २१, २०७८ सोमबार १४:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।