चुरेको पहिरो अवलोकन गर्न पौडेल र रायमाझी बुटवलमा

बुटवल : अनधिकृत दोहनका कारण पहिरो गएको चुरे क्षेत्रको अवलोकन गर्न नेकपा एमालेका नेता विष्णु पौडेल र टोपबहादुर रायमाझी बुटवल आएका छन्।
चुरेमाथि डोजर लगाएका कारण पहिरोले बस्तीमा क्षति पुर्याएपछि नेताद्वय पौडेल र रायमाझी यस क्षेत्रमा आएका हुन्।
१३ र १४ भदौको भारी वर्षापछि बुटवल, ज्योतिनगरमा पहिरो गएको थियो। चुरे क्षेत्रबाट आएको पहिरोले १० घरमा क्षति पुर्यायो भने ६० भन्दा बढी घरमा लेदो पसेको थियो।
२३ वर्षपछि ज्योतिनगरमा चुरेको पहिरो जाँदा ५७ घरमा क्षति पुगेको छ। चुरे पहिरोले ज्योतिनगर, आदर्शनगर र लक्ष्मीनगरमा थप क्षति हुने सम्भावना बढी छ।
२०५५ सालमा पहिरो गएपछि जापान सहयोग नियोग (जाइका) ले गरेको अध्ययनले ज्योतिनगर क्षेत्रबाट बस्ती हटाउन र चुरे पहाडलाई असर गर्ने कुनै पनि काम गर्न नहुने निष्कर्ष निकालेको थियो।
संरक्षणभन्दा बढी चुरेको अतिक्रमण र यस क्षेत्रमा मानव निर्मित संरचना बन्न थालेपछि पहिरोको जोखिम बढ्न थालेको छ।
भदौ २१, २०७८ सोमबार १४:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।