राष्ट्रिय हित अनुकूल भयो भने एमसीसी मन्जुर छ : पोखरेल 

राष्ट्रिय हित अनुकूल भयो भने एमसीसी मन्जुर छ : पोखरेल 

इटहरी : नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) राष्ट्रिय हित अनुकूल भए मन्जुर हुने बताएका छन्। 

एमाले मोरङले बिराटचोकमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले एमसीसीलाई संसदमा टेबल गर्न अनुरोध गरे। 


हालको गठबन्धनका नेताहरू शेरबहादुर देउवा र पुष्पकमल दाहाल सत्तामा भएको बेला सम्झौता भएको विषय अहिले बाहिर नल्याइनु आपत्तिजनक भएको उनको तर्क छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले सभामुखलाई टेबलमा भएको सम्झौता संसदमा पेस गर्न आग्रह गर्दा समेत बेवास्ता गरेको उनको आरोप छ ।

राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता माथि आँच आउने विषय भने स्वीकार गर्न नसकिने उनको धारणा छ। आफूहरू अमेरिका, भारत, चिन तथा बेलायतको सहयोग लिन तयार भएको बताउँदै उनले त्यसका लागि  राष्ट्र हित अनुकूल भए मात्र मान्य हुने प्रष्ट पारे।


फरक प्रसङ्गमा बोल्दै उनले वर्तमान सरकार अपराधीको गठबन्धन भएको आरोप लगाए। माधव नेपालले आफ्नै पार्टीलाई विश्वासको मत नदिएर काँग्रेसलाई सघाए पछि संसद् विघटनको विकल्प सुरु भएको पोखरेलको भनाई छ। 


‘केपी ओलीले लोकतान्त्रिक ढङ्गले ४० प्रतिशतको सीमा राख्दा विरोध गर्नेहरू अहिले रातारात २० प्रतिशतले दल विभाजन हुने व्यवस्था ल्याउन लागि परे’, उनले भने, ‘यो गठबन्धनमा अपराधीहरू धेरै छन्। नेपाली सुरक्षाकर्मीको टाउकोमा भारतीय सेनाका विमान उड्दा यो सरकार मौन बसेको छ। विदेशीका सामु घुँडा टेक्न यो सरकार लाचार भएको छ।’


कार्यकर्तालाई सम्झाउँदै उनले भने, ‘कोही पनि साथी जिम्मेवारी विहीन हुनु हुन्न। समस्यामा परेका साथीहरूको लागि सहजीकरण गर्ने हिसाबमा कमिटी तयार भएको छ। सबैलाई न्याय हुन्छ।’ 


कार्यक्रममा पूर्व मन्त्रीहरू लालबाबु पण्डित, भानुभक्त ढकाल, प्रदेश नं. १ का मुख्यमन्त्री भीम आचार्य लगायतले सम्बोधन गरेका थिए। 

भदौ २०, २०७८ आइतबार १७:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।