प्रदेश २ का थप दुई सांसद नेकपा एकीकृत समाजवादीमा

प्रदेश २ का थप दुई सांसद नेकपा एकीकृत समाजवादीमा

जनकपुरधाम : निर्वाचन आयोगले दल रोज्न दिएको समयसीमा कट्न दुई दिन बाँकी रहँदा नेकपा एमालेका प्रदेश २ का थप दुई सांसदले आइतबार नेकपा (एकीकृत समाजवादी) मा रहन सनाखत गरेका छन्। 

जनकपुरधामस्थित निर्वाचन आयागको प्रदेश कार्यालयमा पुगी उनीहरूले नेकपा (एकीकृत समाजवादी) रोजेका हुन् । प्रदेशसभा २ मा नेकपा एमालेका प्रमुख सचेतक रहेका सुन्दरबहादुर विश्वकर्मा र सांसद सीता गुरुङले आइतबर नेकपा (एकीकृत समाजवादी) रोजेका प्रदेश नम्बर २ निर्वाचन कार्यालयले जनाएको छ। उनीहरूले नयाँ दल रोजेसँगै प्रदेशसभामा नेकपा(एकीकृत समाजादी) सांसदको संख्या १३ पुगेको छ। प्रदेश २ मा एमालेका २१ जना सांसद थिए।


आइतबर नेकपा(एकीकृत समाजवादी) रोजेका नेकपा एमालेका प्रदेशसभा सदस्य विश्वकर्मा र गुरुङ दुवै बाराका हुन्। 


    गत बिहीबार एमालेका १० प्रदेशसभा सदस्य निर्वाचन कार्यालयमा सशरीर नेकपा(एकीकृत समाजवादी) रोज्न पुगेका बेला सोही दिन नयाँ दलका पक्षमा सनाखत गर्ने अपेक्षा गरिएका प्रदेशसभा सदस्य विश्वकर्मा र गुरुङ भने एमालेले वीरगन्जमा आयोजना गरेको कार्यक्रमा सहभागी भएका थिए। नेकपा एमालेभित्र माधवकुमार नेपालनिकट मानिएका दुवै प्रदेशसभा सदस्य अलमलमा रहेको विश्लेषण गर्दै आफ्नो पक्षमा ल्याउन नेकपा(एकीकृत समाजवादी) का शीर्ष नेताहरूले ठूलै कसरत गरेका थिए। 


    भारतकोे नयाँ दिल्लीमा उपचाररत प्रदेशसभा सदस्य डिल्ली उप्रेतीले बिहीबार निवेदनमार्फत नेकपा(एकीकृत समाजवादी पार्टी) मा रहेको जनाउ दिएपछि सनाखतका लागि नयाँदिल्लीस्थित नेपाल दुतावासमार्फत प्रक्रिया अघि बढेको निर्वाचन कायालयले जनाएको छ। प्रदेश सांसद उप्रेतीको सनाखत आएपछि उनले दल रोजेको मान्य हुनेछ। 


यसैगरी जनता समाजवादी पार्टीका तीन प्रदेशसभा सदस्यले नवगठित लोकतान्त्रिक समाजवादी पार्टी नेपालका पक्षमा सनाखत गरेका छन्। प्रदेशसभा सदस्य अभिराम शर्मा, उपेन्द्र महतो र रानी शर्माले लोसपा नेपाल रोज्ने निर्णय गरी आइतबार निर्वाचन कार्यालयमा सनाखत हस्ताक्षर गरेका छन्।


यससँगै लोसपा नेपालका पक्षमा सनाखत गर्ने प्रदेशसभा सदस्यको सँख्या १५ पुगेको लोसपा नेपालका नेता एवम् प्रदेशसभा सदस्य जितेन्द्र सोनलले बताए। उनले नयाँ पार्टीका पक्षमा आफूलगायत अझ कयौं प्रदेशसभा सदस्यको हस्ताक्षर हुन बाँकी रहेको दाबी गरे। 
जनता समाजवादी पार्टी गठन पूर्वका दुई घटकमध्ये तत्कालीन समाजवादी पार्टीसँग ३० र तत्कालीन राष्ट्रिय जनता पार्टीका २५ प्रदेशसभा सदस्य थिए।

भदौ २०, २०७८ आइतबार १६:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।