प्यानिक सेलका कारण नेप्सेमा १०८ अङ्कको पहिरो

प्यानिक सेलका कारण नेप्सेमा १०८ अङ्कको पहिरो

काठमाडौँ : साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा भारी गिरावट आएको छ। नेप्से १०८.२६ अङ्कले गिरावट आएर २८ सय १८ दशमलव ७२ मा कारोबार बन्द भएको हो।

कारोबार सुरु भएको केही घण्टामा नै नेप्से १४५ अङ्कले गिरावट आए पछि कारोबार ४० मिनेटको लागि रोकिएको थियो। उक्त गिरावट नेपालको सेयर बजारमा एकै दिन भएको सबै भन्दा ठुलो गिरावट हो।

यस दिन कारोबार बन्द भएर फेरी सुचारु हुँदा बजार केही सकारात्मक देखिएको थियो। कारोबार सुरु भएको तेस्रो घण्टा सम्म नेप्से फेरी बढेर २ बजे  २८ सय ७४ छोएको थियो। तर, त्यो विन्दु धेरै समय कायम हुन सकेन। आइतबार नेप्से २८ सय १८ दशमलव ७२ हुँदा कारोबार बन्द भयो।

यस दिन  ११ अर्ब भन्दा माथिको कारोबार भएको छ।

आज सबै उपसूचक राताम्मे देखिएको छ। १३ वटै उपसूचक गिरावट आएपछि राताम्मे देखिएको हो।

 साताको कारोबारको पहिलो दिनको कारोबारमा सबै भन्दा धेरै गिरावट उपसूचक तर्फ फाइनान्स हो। फाइनान्समा ८.०१ प्रतिशतले गिरावट आएको छ भने डेभलपमेन्ट बैङ्कको ७.२१ प्रतिशत, ट्रेडिङमा ६.०५ प्रतिशतले गिरावट आएको छ।

यस दिन करिब २ दर्जन कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लाग्यो। नियम अनुसार एकै दिन कुनै पनि कम्पनीको सेयर मूल्य १० प्रतिशत भन्दा धेरै तलमाथि हुन पाउँदैन।

यस दिन कुनै पनि कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेन। सानिमा लाइफ इन्योरेन्सको सेयर मूल्य सर्किटको नजिक गएर रोकिएको छ।

आज सेयर बजारमा भएको ठुलो उतार चढावलाई वर्ष कै ठुलो उतार चढाव भनिएको छ। नेपालको सेयर बजारमा यस अघि २०७७ मङ्सिर २१ गते एकै दिन १२३ अङ्कको गिरावट आएको थियो भने २०७७ पुस ५ गते बजारमा ९७ अङ्क सम्मको गिरावट आएको थियो।

भदौ २०, २०७८ आइतबार १६:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।