तामा बेचेको पैसाले कापी किताब किन्ने रुपाको धोको

तामा बेचेको पैसाले कापी किताब किन्ने रुपाको धोको

धनगढी : कैलालीको मोहन्याल डाँडा गाउँकी १५ वर्षकी रुपा विक आफू भन्दा ठुलो तामाको भारी बोक्छिन्। त्यही भारी बोकेर उनी दुई दिनमा सदरमुकाम बर्दगोरीयाको बौनिया बजार पुग्छिन्।

तामा बेचेर आएको पैसाले रुपालाई किताब कापी किन्नु छ। नयाँ कपडा किन्ने चाहना पनि उत्तिकै छ रुपाको। त्यसैले त उनी उखरमाउलो गर्मीमा तपतप पसिना बगाउँदै तामासँग पैसा साटिरहेकी छन्। 

उनी एक्लै बजारमा तामा बेच्न दुई दिनको पैदल हिँडेर पुगेकी भने होइनन्। उनी बुवा आमासँगै बजार पुगेकी हुन्। 

रुपाका बुवा भारतमा मजदुरी गर्थे। कोरोनाले भारतमा गरेको रोजगारी गुमेपछि भए बेरोजगार। घर फर्किएका रुपाका बुवा रामले भने, ‘तामा, गहुँ, मकै, तोरी बेचेर घर खर्च चलाउँछौ।’ 

गाडी गुड्ने सडक नहुँदा स्थानीय किसानले उत्पादन गरेका सामानले बजार नपाउने समस्या छ। राम विकले भने, ‘दुई दिन हिँडेर तामा बेच्न आएका छौँ,फर्किँदासम्म आम्दानी भएको रकम पनि खर्च भइहाल्छ।’

सामान बिक्री गरेर पैसा हातमा पर्दा पनि दुःख अझै सकिएको छैन उनको। दुई दिन पैदल हिँडेर बौनिया बजारसम्म पुगेर तामा बेचेको पैसाले फेरी चामल बोकेर पहाड उक्लिनु पर्ने बाध्यता छ उनीहरूको। 

रुपाकी आमा हिरादेवीले भनिन्,‘घर जाने बेला सहरबाट फेरी चामलको बोरा, दाल लगायतका खाद्यान्नको भारी बोकेर लैजानु छ,सडक भइदिएको भए त गाडीमा सामान ओसार पसार गर्न सजिलो हुन्थ्यो।’

सडक नहुँदाको दुख 

जटिल रोग लागेका बिरामीलाई उपचारका लागि अस्पताल पुर्याउन समेत समस्या पर्ने गरेको मोहन्याल गाउँपालिका २ राक्साका टेकचन बुढामगर बताउँछन्। उनले भने,‘यहाँ त बिरामी हुँदा उपचार नपाएर अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता छ, २१ औँ शताब्दीमा पनि हामी यस्तो समस्यामा छौँ।’

बर्सातको समयमा गाउँमा सर्पको बिगबिगी हुने गरेको बताउँछन् स्थानीय। ‘टोकी हालेमा पनि यहाँ उपचार सम्भव छैन,झारफुकको भरमा पर्दा बिरामीको ज्यान गइहरेको छ,’स्थानीय अमृत देवकोटाले भने,‘देशमा तीन तहको सरकार छ भन्छन्, तर हामी सास्ती भोग्दै छौँ।’

स्थानीय मनोज मगर मुख्य समस्या नै सडक नहुनु भएको बताउँछन्। ‘स्थानीय सरकार आएको पनि पाँच वर्ष पुग्न लागि सकेको छ,तर अझै सडक बनेन,’ मगरले भने,‘हामीले स्थानीय सरकार आएको कहिले महसुस गर्ने?’

मोहन्याल गाउँपालिका उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष पूजादेवी बुढा मगर पूर्वाधारलाई नै पहिलो प्राथमिकतामा राखेर काम भइरहेको बताउँछिन्। ‘हाम्रो गाउँपालिका पहाडी भूगोल भएको क्षेत्र हो,सडक नखनेका पनि होइनौ , केही ठाउँमा सुरुवात गरिसकेका छौ,’उनले भनिन्,‘बर्सातको समयमा पानीका कारण हिलाम्य छन्,केही ठाउँमा पहिरोका कारण सडक अवरुद्ध बने,तर पनि हामीले सक्दो कोसिस गरिरहेका छौँ।’

स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउन सडक सञ्जाल जोड्ने र गाउँपालिका आफैले पनि स्थानीयको उत्पादन बेच्न समन्वय गर्ने उपाध्यक्ष बुढामगरले बताइन्।

भदौ १९, २०७८ शनिबार १६:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।