प्रदेश १ : विपक्षी गठबन्धन मुख्यमन्त्रीको नियुक्ति बदर गराउने रणनीतिमा

इटहरी : प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यको नियुक्ति बदर गर्न विपक्षी गठबन्धनले माग गरेका छन्। बिहीबार बसेको गठबन्धनको बैठकले नियुक्ति प्रकृयानै असंवैधानिक भएको भन्दै बदर गर्न माग गरेका हुन्।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र)ले संयुक्त विज्ञप्ति मार्फत नियुक्ति बदरको माग गरेका हुन्।
भदौ ९ गते नै सरकारको नेतृत्व गरिरहेको दल विभाजन भएको अवस्थामा १० गते अप्रत्याशित रूपमा एमाले सांसद भीम आचार्यलाई मुख्यमन्त्री बनाउनु गलत भएको गठबन्धनको ठहर छ। एकै दिन तत्कालीन मुख्यमन्त्री शेरधन राईले राजीनामा दिने र आचार्यलाई संविधानको धारा १६८(१) अनुसार हठातमा नयाँ मुख्यमन्त्री नियुक्ति गरी शपथग्रहण गराउने प्रदेश प्रमुखको निर्णय असंवैधानिक भएको विज्ञप्तिमा उल्लेख छ।
दल विभाजित भइसकेपछि नेकपा (एमाले)का सांसदको सङ्ख्या परीक्षण नगरी हतारमा बहुमत रहेको भन्दै आचार्यलाई मुख्यमन्त्री नियुक्ति गर्नु गलत भएको गठबन्धन दलहरूको बुझाई छ। जुन कुरा नेकपा (एकीकृत समाजवादी) पार्टीमा लागेका १० जना सांसदको सनाखतले प्रमाणित गरेको विज्ञप्तिमा जनाइएको छ।
‘प्रदेश प्रमुखको असंवैधानिक निर्णय प्रति असहमति जनाउँदै तत्काल मुख्यमन्त्रीको नियुक्ति बदर गर्न माग गर्दछौँ। यो प्रदेश सभामा बहुमत गुमाइसकेर अल्पमतमा परेको र असंवैधानिक तवरले नियुक्ति भएको सरकारले कुनै पनि दूरगामी असर पर्ने निर्णय नगर्न नगराउन सम्बन्धित सबैमा आग्रह गर्दछौ,’ विज्ञप्तिमा भनिएको छ।
भदौ १७, २०७८ बिहीबार २२:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।