नेपाललाई औषधीमा आत्मनिर्भर बनाउन सकिने उद्योगीको दाबी 

नेपाललाई औषधीमा आत्मनिर्भर बनाउन सकिने उद्योगीको दाबी 

काठमाडौँ : औषधी उद्योगीहरूले नेपाललाई औषधिमा आत्मनिर्भर बनाउन सरकारी नीति तथा कानुनमा परिमार्जन गर्नुपर्ने माग गरेका छन्।

केही वर्ष अघिसम्म करिब १० प्रतिशत मात्र स्वदेशी उत्पादन रहेकोमा अहिले बढेर करिब ५० प्रतिशत पुगेको दाबी उद्योगीहरूको छ।

स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने सरकारी नीति र उपयुक्त वातावरण बन्न सके छिट्टै नेपाललाई औषधिमा ८० देखि ९० प्रतिशत आत्मनिर्भर बनाउन सकिने दाबी उनीहरूले गरेका छन्।

औषधि उद्योगीहरूसँग आज बिहीबार नेपाल उद्योग वाणिज्य महासङ्घमा आयोजित कार्यक्रममा औषधि लगायत उद्योग व्यवसायसँग सम्बन्धित ऐन कानुनहरूमा सुधारको खाँचो रहेको बताएका हुन्। 

नेपालको औषधि बजार करिब ४५ देखि ५० अर्ब रुपैयाँको रहेको छ। त्यसमा हाल ५० प्रतिशत हिस्सा स्वदेशी उद्योगका उत्पादनले ओगटेको छ भने बाँकी औषधि भारत लगायतका देशहरूबाट  आयात हुने गरेको उद्योग वाणिज्य महासङ्घले जनाएको छ। 

कार्यक्रममा महासङ्घका अध्यक्ष शेखर गोल्छाले मानिसको स्वास्थ्य जस्तो अत्यन्त महत्त्वपूर्ण क्षेत्रसँग जोडिएका उद्योगधन्दालाई प्रवर्द्धन गर्ने कार्यमा महासङ्घले सधैँ नेतृत्वदायी भूमिकामा रहेर सहयोग गर्ने बताए।

भदौ १७, २०७८ बिहीबार २२:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।