आयात घटाउने सरकारको मुख्य लक्ष्य : अर्थमन्त्री शर्मा

काठमाडौँ : अर्थमन्त्री जनार्दन शर्माले दैनिक उपभोग्य वस्तुहरूको उत्पादन गर्ने उद्योगको स्थापना तथा सञ्चालनमा सरकारले प्राथमिकता दिएको बताएका छन्।
बिहीबार अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले गरेको भर्चुअल बैठकमा अर्थमन्त्री शर्माले दैनिक उपभोग्य वस्तुको स्वदेशमै उत्पादन गरेर आयातलाई घटाउने वर्तमान सरकारको मुख्य लक्ष्य रहेको बताए।
उनले दैनिक उपभोग्य वस्तुको उत्पादन गर्ने उद्योगसहित साना तथा मझौला उद्योग सञ्चालनका लागि आईएफसीसँग सहकार्य गर्न सकिने बताए।
‘दैनिक उपभोग्य वस्तुहरूको उत्पादन गर्ने उद्योगमा हाम्रो प्राथमिकता छ’, मन्त्री शर्माले भने, ‘यस्ता उत्पादनबाट आयातलाई घटाउनु हाम्रो मुख्य उद्देश्य रहेको छ।’
मन्त्री शर्माले सकारको ध्यान कोभिड–१९ महामारीपछि अर्थतन्त्रको पुनरुत्थानमै रहेकाले यसमा आवश्यक सहयोग गर्न आईएफसीलाई आग्रह गरे। आईएफसीको ज्ञान र अनुभव नेपालमा साना तथा मझौला उद्योग स्थापनाका लागि फलदायी हुने मन्त्री शर्माको भनाई थियो।
भदौ १७, २०७८ बिहीबार २१:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।