नेपाल–भारत मैत्रीपूर्ण पहिलो खेल बराबरीमा सकियो

नेपाल–भारत मैत्रीपूर्ण पहिलो खेल बराबरीमा सकियो

काठमाडौँ : नेपाल र भारतविचको मैत्रीपूर्ण फुटबलको पहिलो खेल बराबरीमा सकिएको छ। साफ च्याम्पियनसिपको तयारीमा रहेका नेपाल र भारतले बिहीबार दशरथ रङ्गशालामा मैत्रीपूर्ण खेल खेलेका थिए।

निर्धारित समयमा खेल १-१ को बराबरीमा सकियो। नेपालले ३५ औँ मिनेटमा अग्रता लिएको थियो।  नेपालको तर्फबाट अञ्जन विष्टले गोल गरेका थिए। भारतीय खेलाडी अनिरुद्ध थापाले गोल फर्काएपछि नतिजा बराबरीमै सकियो।

भारतीय गोलकिपरले आफ्नै सहयात्रीले दिएको ब्याक पास नियन्त्रणमा लिन नसक्दा अञ्जनले अगाडि बढेर बल विपक्षीको पोस्टमा छिराएका थिए। 

नेपाली रक्षापंक्तिले जब्बर प्रदर्शन गरेपछि भारतीय टोली पहिलो हाफसम्म गोल गर्न सफल भएन। पहिलो हाफसम्म भारत मैदानको सबै पक्षमा कमजोर देखिएको छ। विपक्षी पोस्टमा नेपाली फरवार्डहरूले तीन पटक आक्रमण गर्दा भारतले एक पटक मात्र नेपालको पोस्टमा आक्रमण गर्न सकेको थियो।

भारतीय कप्तान सुनिल क्षेत्रीले टाढाबाट गरेको प्रहार नेपालका गोलकिपर किरण चेम्जाेङले बचाए पनि पूर्ण रूपमा क्लियर हुन नसक्दा थापाले गोल गरेका थिए। नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल आइतबार हुनेछ।

भदौ १७, २०७८ बिहीबार १९:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।