प्रदेश २ मा एमालेका १० सांसदले रोजे एकीकृत समाजवादी

निर्वाचन आयोगले भदौ २२ गतेसम्म जनप्रतिनिधिलाई पार्टी रोज्न दिएको अन्तिम समयसीमा अगावै उनीहरूले नयाँ पार्टी रोजेका हुन्।
बिहीबार प्रदेश निर्वाचन कार्यालय जनकपुरधाममा १० जना प्रदेशसभा सदस्यले आफूहरू नेकपा एकीकृत समाजवादीमा रहने गरी सनाखत गरेका हुन्।
नेकपा एमालेका अर्का एक प्रदेशसभा सदस्य डिल्लीप्रसाद उप्रेती उपचारका लागि भारतको नयाँ दिल्लीमा रहेकाले उनले निवेदनमार्फत आफू नेकपा एकीकृत समाजवादीमा रहने निर्वाचन आयोगको कार्यालयलाई जानकारी दिएका छन्।
नेकपा एकीकृत समाजवादी रोज्ने प्रदेशसभा सदस्यहरूमा शत्रुधन महतो, गोविन्दबहादुर न्यौपाने, प्रमोद यादव, अशोककुमार यादव, मञ्जुकुमारी यादव, बेची लुंगेली, रवीन्द्र बैठा, नागेन्द्रराय यादव, हसीमा खातुन र मनोजसेन श्रीवास्तव छन्।
विभाजन पूर्व नेकपा एमालेका प्रदेशसभा २ मा २१ जना सदस्य थिए ।
निर्वाचन आयोगको प्रादेशिक कार्यालयमा सनाखत गरेसँगै जनता समाजवादी पार्टी नेतृत्वको प्रदेश २ को गठबन्धन सरकारमा नेकपा एकीकृत समाजवादी सामेल हुने बाटो खुलेको छ।
प्रदेशसभा सदस्य शुत्रधन महतोले गठबन्धन सरकारमा केन्द्रीय सहमतिअनुसार सहभागी हुने बताए। उनले सरकारमा सहभागी हुने समयसीमाबारे भने तत्काल भन्न नसकिने उल्लेख गरे।
प्रदेश २ सरकारमा नेपाली कांग्रेस र माओवादी केन्द्र यसअघि नै सहभागी भइसकेका छन्।
भदौ १७, २०७८ बिहीबार १६:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।