महतोलाई स्वागत गर्न गएनन् मेयर लालकिशोेर 

महतोलाई स्वागत गर्न गएनन् मेयर लालकिशोेर 

जनकपुरधाम : जनता समाजवादी पार्टीबाट विभाजित लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) रोज्न जनप्रतिनिधिलाई उत्साहित तुल्याउन जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेताद्वय राजेन्द्र महतो तथा शरतसिँह भण्डारी प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम आएका छन्। 

लोसपा कार्यकर्ताहरूले बुधबार अपराह्न अध्यक्ष ठाकुरसँगै वरिष्ठ नेताहरू महतो तथा भण्डारीलाई जनकपुरधाम विमानस्थलमा भव्य स्वागत गरेका छन्। जसपा फुटेर लोसपा गठन भएपछि तीनैजना नेता जनकपुरधाम आएको यो पहिलो पटक हो।

नेता महतो जनकपुरधाम आएका बेला माला र खादाका साथ दलबलसहित स्वागतका लागि पुग्ने जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह बुधबार विमानस्थलमा देखिएनन्। लोसपा नेताहरू जनकपुरधाम आएका बेला प्रमुख साह जनता समाजवादी पार्टीका प्रदेश २ अध्यक्ष एवम् प्रदेश सरकारका नवनियुक्त भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजयकुमार यादवको कार्यभार ग्रहण कार्यक्रममा थिए। जनकपुरधामको मुरलीचोकस्थित भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट जनकपुरधाम विमानस्थलको दुरी मुस्किलले एक किलोमटर छ। 

तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट जनकपुरधाम उपमहानगरपालिकाका प्रमुखमा निर्वाचित साहले जनता समाजवादी पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी भएर आफ्नो पुरानो खेमामा नफर्कने संकेत गरिसकेका थिए।
कुनै बेला काँग्र्रेस परित्याग गरी महतो नेतृत्वको तत्कालीन सद्भावना पार्टीका केन्द्रीय प्रवक्तासमेत बनेका प्रमुख साह नेता महतोसँग निकट पारिवारिक सम्बन्ध भएका व्यक्ति पनि हुन्। प्रमुख साहकी भतिजबुहारी र नेता महतोकी श्रीमती बाल्यकालीन दौंतरी हुन्। यो सम्बन्धले गर्दा पनि महतो र साहबीचको राजनीतिक सम्बन्ध थप दरिलो रहँदै आएको थियो।  

जनप्रतिनिधिलाई विभाजित पार्टी रोज्ने समयसीमाको पहिलो दिन मंगलबार जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख रीताकुमारी मिश्रले भने लोसपा रोजेकी छिन्। उनी पनि तत्कालीन राजपा नेपालबाटै निर्वाचित भएकी थिइन्। 

जनकपुरधाम आएका लोसपा अध्यक्ष ठाकुरले आफ्नो पार्टी पूर्वअवस्थामा फर्कने बताए। उनले पार्टी(तत्कालीन राजपा) बाट निर्वाचित जनप्रतिनिधिहरू लोेसपालाई नै रोज्ने उल्लेख गरे। जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ठाकुरले लोेसपाको आकार बढ्नेमा ढुक्क रहन पनि भने।
 

भदौ १६, २०७८ बुधबार १४:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।