अन्ततः कृषि मन्त्रालय पुगे मन्त्री यादव

अन्ततः कृषि मन्त्रालय पुगे मन्त्री यादव

जनकपुरधाम : प्रदेश २ का नवनियुक्त भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजयकुमार यादवले बुधबार कार्यभार सम्हालेका छन्।

प्रदेश सरकार गठन भएयता मुख्यमन्त्री लालबाबु राउतसँगको विवाद साम्य हुन नसकेपछि यादवलाई गत आइतबार अर्थ मन्त्रालयबाट भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको थियो।

यसअघिकका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहलाई अर्थमन्त्री बनाइएको छ। 

जनता समाजवादी पार्टीका प्रदेश अध्यक्षसमेत रहेका यादवले परिवर्तित मन्त्रालयको कार्यभार सम्हालेपछि उनले मन्त्रिपरिषद् सदस्यबाट राजीनामा दिने अड्कलमा बिराम लागेको छ।

पार्टी राजनीतिमा जसपा अध्यक्ष उपेन्द्र यादवसँग निकट रहेर काम गर्दै आएका यादव तत्कालीन संघीय समाजवादी पार्टीको लहानमा सम्पन्न प्रदेश अधिवेशनमा प्रदेश अध्यक्ष निर्वाचित भएका थिए। उनले पटकपटक संघीय मन्त्री भइसकेकी पार्टीकी प्रभावशाली नेता रेणु यादवलाई पराजित गर्दै प्रदेश अध्यक्ष भएका थिए। 

बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालसँग एकीकरणपछि बनेको संघीय समाजवादी पार्टी र त्यसपछि तत्कालीन राष्ट्रिय जनता पार्टी(राजपा) नेपालसँग एकीकृत भएर गठन भएको जनता समाजवादी पार्टीका प्रदेश अध्यक्षका रूपमा समेत यादवले काम गरिरहेका छन्। यद्यपि प्रदेशस्तरमा पार्टीको औपचारिक समायोजन बाँकी नै छ। 

तत्कालीन राजपाको प्रदेशमा प्रादेशिक तहको समिति नरहेको र जनता समाजवादी पार्टीको अधिवेशनबाटै निर्वाचित समिति रहेकाले यादवले प्रदेश अध्यक्ष पदको जिम्मेवारी निर्वाह गर्दै आएका छन्। 

तत्कालीन संघीय समाजवादी पार्टीमा मुख्यमन्त्री राउत केन्द्रीय उपाध्यक्ष र  मन्त्री यादव कोषाध्यक्ष थिए। मन्त्री यादव अहिले जनता समाजवादी पार्टीका आर्थिक विभाग प्रमुख हुन्। मुख्यमन्त्री राउत र मन्त्री यादव दुवै पार्टीका केन्द्रीय कार्यकारणी सदस्य छन्।

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फोरमदेखि संघीय समाजवादीसम्मको यात्रामा कोषाध्यक्षको भूमिका रहेका मन्त्री यादवले प्रदेशसभा सदस्य भएपछि मुख्यमन्त्री बन्ने अपेक्षा गरेका थिए। तर त्यसविपरीत पार्टी वरियतामा माथि रहेका अर्का प्रदेशसभा सदस्य राउतलाई मुख्यमन्त्री बनाएर यादवलाई अर्थ मन्त्रालयमा लगिएको थियो। 

प्रदेश सरकारले कार्यारम्भ गरेदेखि नै मुख्यमन्त्री राउत र तत्कालीन अर्थमन्त्री विजयबीच सरकार र पार्टीभित्र प्रभाव बढाउने विषयमा द्वन्द्व रहँदै आयो। 

सरकारका नीति तथा कायर्यक्रम, योजना छनोट र बजेट विनियोजन, योजना कार्यान्वयनमा मुख्यमन्त्री राउतको कार्यकारी भूमिकालाई अर्थमन्त्रीले ओझेलमा पारेको अर्थात् निस्क्रिय तुल्याएको आरोप विजयमाथि थियो। 

मुख्यमन्त्री कार्यालयले सोझै सञ्चालन गर्ने बेटी बचाउ, बेटी जोगाउ, मुख्यमन्त्री स्वच्छता अभियानजस्ता कार्यक्रमको बजेट तत्कालीन अर्थमन्त्री यादवले सम्बन्धित मन्त्रालयका लागि विनियोजित गरिदिएपछि दुवैबीचको विवाद उत्कर्षमा पुगेको थियो। त्यसपछि मुख्यमन्त्री राउतले अर्थमन्त्री विजयलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा स्थानान्तरित गरेका हुन्।

मन्त्रालय परिवर्तनपछि तत्कालीन अर्थमन्त्री विजयले मन्त्रिपरिषद्बाटै राजीनामा दिने हल्ला चलेको थियो। तर आइतबार नै उनीनिकट पार्टीका केन्द्रीय लेखाप्रमुख सुरेन्द्र अधिकारीले मन्त्री यादवले राजीनामा नदिने प्रस्ट्याएका थिए। 

मन्त्रालय हेरफेर भएको चौथो दिनमा कार्यभार सम्हालेका यादवले अर्थभन्दा पनि कृषि मन्त्रीकै रूपमा राम्रो काम गर्नसक्ने लागेर मुख्यमन्त्री राउतले आफ्नो जिम्मेवारी परिवर्तन गरेको हुनसक्ने बताए। उनले भने,  ‘मुख्यमन्त्रीजीलाई अर्थमन्त्रीका रूपमा शैलेन्द्रजी सहज लाग्नु भएको पनि हुनसक्छ।’

मुख्यमन्त्रीले आफूसँग योग्यता र क्षमता रहेकाले मन्त्रीका रूपमा जिम्मेवारी दिएको उल्लेख गर्दै मन्त्री यादवले जनता र पार्टीका मतदाताहरूले समेत आफ्नो मूल्यांकन गरिरहेको बताए। 

मन्त्री यादवले कृषिमन्त्रीका रूपमा आफूले मन्त्रालयमा विनियोजित बजेटलाई वित्तीय अनुशासनको सीमाभित्र रहेर खर्च गर्ने र अनुदान प्रणालीलाई व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरे।

भदौ १६, २०७८ बुधबार १४:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।