ठमेलमा रात्रिकालीन व्यवसाय सञ्चालन गर्न दिन प्रशासनमा ज्ञापन पत्र 

ठमेलमा रात्रिकालीन व्यवसाय सञ्चालन गर्न दिन प्रशासनमा ज्ञापन पत्र 

परिषद्को टोलीले कोरोना महामारीका कारण ठमेल क्षेत्रमा ठुलो नोक्सानी पुगेकाले रात्रिकालीन लगायत अन्य व्यवसायहरू सहज रूपमा सञ्चालन गर्न दिनुपर्ने माग गरेको हो। 

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीलाई मंगलबार ज्ञापन पत्र बुझाएका व्यवसायीहरूले व्यवसाय सञ्चालन गर्न नपाउँदा घर भाडा तिर्न नसकेको र बैङ्कको सावा व्याज बुझाउन नपाएको गुनासो गरेका छन्। 

स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पूर्ण पालना गरी होटेल, रेस्टुरेन्ट, स्पा लगायतका व्यवसायहरू पहिलेकै अवस्थामा पूर्ण रूपमा सञ्चालनका लागि अनुमति दिन प्रशासनको ध्यानाकर्षण गरिएको परिषद्का उपाध्यक्ष राजुमान डङ्गोलले जानकारी दिए। 

ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पराजुलीले कोरोना महामारीलाई नियन्त्रण र रोकथाम गर्न बाध्य भएर केही क्षेत्र सञ्चालनमा रोक लगाइएको बताए। कोरोना महामारी कम हुँदै गएपछि क्रमशः रोक लगाइएका क्षेत्र खुल्ला गरिने र यस विषयमा छलफल भइरहेको उनले बताए। 

रात्रिकालीन व्यवसायमा ५० हजार भन्दा बढी श्रमिक कार्यरत रहेको र व्यवसाय बन्द हुँदा सञ्चालक तथा श्रमिक भोकले ज्यान गुमाउने अवस्था सिर्जना भएको परिषद्ले बताएको छ।

भदौ १५, २०७८ मंगलबार १६:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।