एमयूका वार्षिक र मौका परीक्षा भदौ २८ गतेदेखि हुने

तालिका अनुसार विश्वविद्यालयले बीएस्सी, बीएस्सी सीएसआइटी, बीए, बीएड, बीबीएको आठौं सेमेष्टरका मौका परीक्षा, सेमेस्टर नै ग्याप भएका एमबिएका पहिलो र तेस्रो सेमेस्टरको वार्षिक परीक्षा लिन लागेको हो। यस्तै बीएड, एमएड, बीबीए, बीएचएम, बीटीटीएम, बीबीएस, बीएमसी, एमबीए, बीए, एमए, बीइ सीभील र कम्प्यूटर होइड्रोका दोस्रो, चौथो र छैटौँ सेमेष्टरका वार्षिक परीक्षा तालिका सार्वजनिक गरिएको विश्व विद्यालयले जनाएको छ।
परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको कार्य तालिका अनुसार भदौ २८ गतेदेखि असोज २० गतेसम्म परीक्षा लिने छ। जस अनुसार पहिलो दिन (भदौ २८ गते) विज्ञान तथा प्रविधि संकायका स्नातक तहका बीएस्सी र बीएस्सी सीएआइटीका आठौं सेमेष्टरका मौका परीक्षा र अन्तिम दिन (असोज २० गते) शिक्षा शास्त्र सङ्काय अन्तर्गत बीएड चौथो सेमेष्टरका परीक्षाहरू हुनेछन्। सेमेस्टर ग्याप भएका परीक्षाहरू बिहान ८ बजेदेखि १०ः३० बजेसम्म र अन्यको सन्दर्भमा मध्यान्न १२ बजेदेखि दिउँसो २ः३० बजेसम्म सञ्चालन हुने विश्वविद्यालयले जनाएको छ।
विद्यार्थीहरूले अनलाइन वा भौतिक उपस्थितिमध्ये कुनै एउटा माध्यम रोजेर परीक्षा दिन पाउने परीक्षा नियन्त्रण कार्यालयका प्रमुख डा. आनन्दप्रसाद सुवेदीले जानकारी दिए। तर, प्रयोगात्मक पत्र, प्रतिवेदन लेखन, ट्रम पेपर लगायत विषयको परीक्षा लिखित परीक्षा सकिएको १५ दिनभित्र परीक्षा नियन्त्रण कार्यालयमा पुग्ने गरी सम्बन्धित क्याम्पसले कार्य तालिका बनाएर परीक्षा लिनेछन्।
यसअघि साउन ८ गतेदेखि हुने भनिएका वार्षिक तथा मौका परीक्षाहरू विद्यार्थीहरूको आन्दोलनका कारण डेढ महिनादेखि रोकिएका थिए। शनिवार मात्रै विश्वविद्यालय उच्चस्तरीय समस्या समाधान समिति र आन्दोलनरत विद्यार्थीबीच ७ बुँदे सहमतिपछि विद्यार्थीले आन्दोलनका कार्यक्रम स्थगित गरेर विश्वविद्यालयमा लगाइएको ताला खोलिएको थियो। विद्यार्थीको आन्दोलनका कारण दसैँको अघिल्लो दिनसम्म परीक्षा सञ्चालन गर्नु परेको विश्वविद्यालयले जनाएको छ। यस वर्षको दसैँ असोज २१ गतेदेखि सुरु हुँदैछ। असोज २१ गते घटस्थापना परेको छ।
भदौ १५, २०७८ मंगलबार १२:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।