आवरण विद्यार्थीको, काम कोकिन तस्करी

उनी गत फेब्रुअरीमा विद्यार्थी भिसामा नेपाल आएर क्याम्पस भर्ना भएकी थिइन्। उनी नेपाल विद्यार्थी बनेर आएकी हैनन्, पर्यटक बनेर आएकी थिइन्। उनी सन् २०१९ मा पर्यटन भिसामा नेपालमा आएर विश्व भाषामा भर्ना भएपछि पर्यटन भिसालाई विद्यार्थी भिसामा बदलेकी थिइन्।
तान्जानियाको सामान्य परिवारकी सदस्य उनी क्षेत्रपाटीमा बस्दै आएकी थिइन् मासिक २० हजार रुपैयाँमा फ्ल्याट भाडामा लिएर। उनी किन नेपाली भाषा पढ्न क्याम्पस भर्ना भएर नेपालमा बसेकी थिइन् त्यसको रहस्य खुलाइदियो लागु औषध अनुसन्धान ब्युरोले।
अहिले उनी दुई किलो ९ सय ६६ ग्राम कोकिन तस्करीको सहयोगीको आरोपमा ब्युरोको हिरासतमा छिन्। उनी भदौ ९ गते भारततर्फ भाग्दै गर्दा सिन्धुलीको खुर्कोटबाट पक्राउ परेकी थिइन्। उनको पक्राउपछि कोकिन तस्करीमा नेपाललाई ट्रान्जिट बनाउन सक्रिय अन्तर्राष्ट्रिय गिरोहले विभिन्न आवरणमा नेपालमा आफ्ना एजेन्टहरू राखेको देखियो। ब्युरोले सार्वजनिक गरेको विवरण अनुसार ती एजेन्टमध्ये एक हुन् किमोर। उनी यस अगाडि नेपालमा आइपुगेको कोकिन तस्करीमा समेत संलग्न भएको प्रहरीको आशङ्का छ।
साउथ अफ्रिकाबाट भित्रिएको थियो कोकिन
ब्युरोले बरामद गरेको कोकिन साउथ अफ्रिका हुँदै नेपाल भित्रिएको ब्युरोको दाबी छ। साउथ अफ्रिकाको जहनसबर्गबाट क्यापटाउन, कतारको दोहा हुँदै ११ दिन अगाडि कोकिन नेपाल भित्रिएको थियो। यस अगाडिको एक घटनामा नेपाली बजारमा समेत कोकिन बिक्री भएको खुलेको थियो। तर प्रारम्भिक अनुसन्धानमा सो कोकिन भारत लैजाने योजना अनुसार नेपाल भित्रिएको खुलेको छ।
दुई किलो ९ सय ६६ ग्राम कोकिनसहित कतार एयरवेज हुँदै नेपाल आएका थिए दक्षिण अफ्रिकी नागरिक सिर्ले गामा। उनी अगस्ट १८ मा साउथ अफ्रिकाबाट उडेर अगस्ट १९ मा काठमाडौँ आइपुगेका थिए। सुटकेसमा कोकिन बोकेर आएका उनीबारे ब्युरोको टोलीले पहिल्यै सूचना पाएकाले उनलाई विमानस्थलबाटै पच्छ्याइएको थियो।
विमानस्थलमा ओर्लिएपछि उनी ट्याक्सी लिएर उनी कमलादीको एक होटेलमा पुगे। होटेलमा बसेका उनलाई साउथ अफ्रिकाबाट निरन्तर फोन आइरहेका थिए। विमानस्थलबाटै सहजै बाहिरिएका उनी कतै प्रहरी निगरानीमा परेका त छैनन् भन्नेमा उताको समूह पक्कापक्की हुन चाहन्थ्यो।
यसका लागि उनलाई होटेलबाट निकालेर सार्वजनिक स्थानमा पूर्याउनु थियो र उनलाई कसैले पच्छ्याएको छ छैन यकिन गर्नु थियो।
उताको समूहले गामालाई दरबारमार्गमा रहेको केएफसी रेस्टुरेन्ट जान निर्देशन दियो। उनी सोही निर्देशन अनुसार रेस्टुरेन्ट पुगेर बसे। केही समयमा उनी रेस्टुरेन्टबाट निस्किएर सुरक्षित रूपमा होटेल पुगे। त्यही पुगेकी थिइन् विश्व भाषाको विद्यार्थीको रूपमा बसेकी किमोर।
गामालाई कसैले नपछ्याएको उता सूचना पुगेपछि कोकिन लिन भारतीय एजेन्ट विजय सिंहलाई नेपाल बोलाइयो। उनी काठमाडौँ आएर कमलादीमा रहेको होटेल पुगेर कोकिन लिन थालेपछि बल्ल ब्युरोको टोलीले दुवै जनालाई पक्राउ गरेको थियो।
यता दुवै जना पक्राउ परेपछि जोगिन किमोर भागेर भारत पुग्न सुर्खेत पुगिन्। तर ब्युरोले उनलाई पछ्याएकाले उनी जोगिन भने सकिनन्।
कोरोना कालमा कोकिन किन भित्रियो ?
प्रहरीले बरामद गरेको कोकिनको बजार मूल्य करिब नौ करोड ठम्याएको छ। केही समय अगाडि ब्युरोले नै कोकिन सहित नेपाली कारोबारीहरूलाई पक्राउ गरेको थियो। अनुसन्धानमा ती नेपाली कारोबारीले नेपाली बजारमै कोकिन विक्री गरेको खुलेको थियो।
क्लिनरबाट कोकिन तस्कर : ज्याकेट चोर्दा भेटिएको कोकिनले नेपाली महिलालाई बनायो कारोबारी
तर आइतबार सार्वजनिक गरिएको कोकिन भने नेपालको बजारमा नभई भारतको बजारमा पूर्याउन नेपाल भित्र्याएको ब्युरोका अधिकारीले दाबी गरेका छन्।
विद्यार्थीको आवरणमा तस्कर
लागु औषधको अनुसन्धानमा लामो समय काम गरेका पूर्व डिआइजी हेमन्त मल्लका अनुसार नेपालमा विद्यार्थीको आवरणमा बसेर लागु औषधको तस्करी गर्न सक्रिय केही विदेशीहरू यस अगाडि पनि पक्राउ परेका थिए। उनीहरू त्रिभुवन विश्वविद्यालय विद्यार्थीको रूपमा भर्ना भएर काम चैँ लागु औषध तस्करीमा काम गर्दै आएका थिए।
नेपालमा आएर विभिन्न बहानामा बस्ने विदेशी नागरिकमाथि निगरानीको अभावमा लागु औषधका समूहका सदस्यहरू नेपालमा रहेको हुनसक्ने आशङ्का गर्दै उनले भने' तान्जानियाको नागरिक किन नेपाली पढ्न भर्ना भए भनेर कसैले चासो नै राखेन। सामान्य शङ्का मात्र गरेर निगरानी राखेको भए उनी पहिल्यै पक्राउ पर्न सक्थिन्।'
उनले नेपाल बस्न मात्र यस्ता आवरण लिएकाहरूको पहिचान गर्न अध्यागमन विभागसँग समन्वय गरेर को-को विदेशी नागरिक नेपालमा कुन-कुन भिसामा बसेका छन् र के गरिरहेका छन् भनेर सामान्य अनुगमन मात्र गर्ने हो भने पनि लागु औषध लगायतका सङ्गठित अपराधमा संलग्न समूहका सहयोगीको पहिचान हुनसक्ने उनले सुझाव दिए।
भदौ १४, २०७८ सोमबार २०:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।