काँग्रेस महाधिवेशन : प्रदेश २ मा निधिलाई सकस

जनकपुरधाम : आफ्नै समूहका नेताहरू प्रदेश सभापतिका आकाङ्क्षी भएपछि केन्द्रीय सभापतिको दौडमा रहेका नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिको सकस बढेको छ। आफू निकट नेताहरू नै प्रदेश अध्यक्षको प्रतिस्पर्धी बन्ने तयारीमा लागेपछि निधी अप्ठ्यारोमा परेका हुन्।
काँग्रेसको विधानअनुसार दुई कार्यकाल जिल्ला सभापति भएपछि तेहेराउन मिल्दैन। यसले पनि प्रदेश अध्यक्षको आकाङ्क्षीको सङ्ख्या बढाएको छ।
काँग्रेस प्रदेश २ संसदीय दलका नेता राम सरोज यादव प्रदेश अध्यक्षका दाबेदार हुन्। उनी प्रदेश सरकारमा मन्त्री समेत छन्। सप्तरीका जिल्ला सभापति दिनेश यादव, महोत्तरीका जिल्ला सभापति महेन्द्रकुमार यादव र रौतहटका जिल्ला सभापति कृष्णा यादव पनि उम्मेदवार बन्ने तयारीमा छन्।
राष्ट्रिय महाधिवेशन अगावै प्रदेश अधिवेशन हुन्छ। यसले केन्द्रको सभापतिको उम्मेदवार बन्नेका लागि कुनै एक पक्षमा मात्र खुल्नु घातक हुनसक्छ। त्यसमा पनि निधिलाई वर्तमान सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरूलाई समेत रिझाउनुपर्ने चुनौती छ।
यस्तो बेलामा आफू निकट मानिएका नेताहरू नै एक अर्का विरुद्ध चुनावी मोर्चामा कस्सिएपछि निधिले प्रदेश अध्यक्षमा कसलाई समर्थन गर्ने खुल्न सकेका छैनन्।
भदौ १३, २०७८ आइतबार १५:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।