नेकपा एकीकृत समाजवादीले मोरङमा गठन गर्यो जिल्ला कमिटी

एमालेको समानान्तर कमिटीमा आबद्ध ३२५ जना समाजवादी पार्टीमा समावेश भएका छन्। चन्द्रवीर राईको अध्यक्षतामा गठन भएको समानान्तर कमिटी नै माधवकुमार नेपाल नेतृत्वको समाजवादीमा समाहित भएको हो।
नयाँ पार्टीको जिल्ला कमिटी गठन भएपछिको बैठकले जिल्ला पदाधिकारीहरूको जिम्मेवारीसमेत बाँडफाँट गरेको छ। जसअनुसार दुई उपाध्यक्ष, सचिव, दुई सहसचिव र आर्थिक विभाग प्रमुखको जिम्मेवारी टुङ्गो लगाएको छ।
डा.उद्धव पोखरेल मोर्चा विभाग प्रमुख रहेको कमिटीमा राजन केसीलाई सङ्गठन विभाग प्रमुखको जिम्मेवारी दिइएको छ। बैठकले चण्डी राईलाई स्कुल विभाग प्रमुख, निलम ढुङ्गेललाई श्रम तथा रोजगार विभाग प्रमुख र वसिम आलमलाई प्रवक्ताको जिम्मेवारी तोकेको छ।
बैठकले १७ वटै स्थानीय तह र सबै वडामा पार्टीको भेला आयोजना गरी कमिटीहरूलाई पूर्णता दिने निर्णय गरेको प्रवक्ता आलमले जानकारी दिए। सङ्गठन मजबुत बनाउँदै लैजाने र आगामी निर्वाचनको तयारीमा सङ्गठन परिचालन हुने उनको भनाइ छ।
भदौ १२, २०७८ शनिबार २१:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।