आर्थिक वृद्धि ४.०१ प्रतिशत हुने अनुमान

आर्थिक वृद्धि ४.०१ प्रतिशत हुने अनुमान

बिहीबार राष्ट्र बैङ्कले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै आर्थिक वर्ष २०७६/०७७ मा ऋणात्मक रहेको आर्थिक वृद्धि ४.०१ प्रतिशत रहने अनुमान गरेको हो। बैङ्कका अनुसार कृषि क्षेत्रको वृद्धि २.६४ प्रतिशत, उद्योग क्षेत्रको ५.०५ प्रतिशत तथा सेवा क्षेत्रको वृद्धि ४.४३ प्रतिशत रहेको अनुमान छ।

आर्थिक वर्ष २०७७/७८ मा कुल गार्हस्थ्य बचत कुल गार्हस्थ्य उत्पादनको ६.६२ प्रतिशत पुगेको छ। कुल स्थिर पुँजी निर्माण र कुल राष्ट्रिय बचतको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात क्रमशः २७.२६ प्रतिशत र ३२.३० प्रतिशत रहेको राष्ट्र बैङ्कले जनाएको छ। 

आर्थिक वर्ष २०७७/७८ मा कुल जलविद्युतको जडित क्षमता वृद्धि भई १४५८ मेगावाट पुगेको छ। पर्यटक आगमनमा ९०.९ प्रतिशतले गिरावट आएको छ। नेपाल आउने पर्यटकको सङ्ख्या ७० हजार १२३ कायम भएको छ। 

वार्षिक औसत मुद्रास्फीति ३.६० प्रतिशत रहेको बैङ्कले जनाएको छ। अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति ६.१५ प्रतिशत रहेको थियो।

अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७७/७८ मा घ्यू तथा तेल, दाल तथा गेडागुडी, सुर्तीजन्य पदार्थ र यातायात उपसमूहको वार्षिक औसत मूल्यवृद्धि क्रमशः १७.५४ प्रतिशत, १०.६५ प्रतिशत, ९.८३ प्रतिशत र ६.४१ प्रतिशत रहेको छ।

२०७८ असारमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१९ प्रतिशत रहेको राष्ट्र बैङ्कले जनाएको छ। २०७७ असारमा यस्तो मुद्रास्फीति ४.७८ प्रतिशत रहेको थियो।

आर्थिक वर्ष २०७७/७८ मा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक औसत मुद्रास्फीति ५ प्रतिशत रहेको छ। अघिल्लो आर्थिक वर्षमा उक्त समूहको मुद्रास्फीति ८.१६ प्रतिशत रहेको थियो।

आर्थिक वर्ष २०७७/७८ मा गैर–खाद्य तथा सेवा समूहको वार्षिक औसत मुद्रास्फीति २.५१ प्रतिशत रहेको छ। अघिल्लो आर्थिक वर्ष उक्त समूहको मुद्रास्फीति ४.६१ प्रतिशत रहेको थियो।

आर्थिक वर्ष २०७७/७८ मा उपभोक्ता मुद्रास्फीति काठमाडौँ उपत्यकामा ३.३३ प्रतिशत, तराईमा ३.६८ प्रतिशत, पहाडमा ३.८७ प्रतिशत र हिमालमा २.८७ प्रतिशत रहेको राष्ट्र बैङ्कले जनाएको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो मुद्रास्फीति क्रमशः ६.९६ प्रतिशत, ६.२९ प्रतिशत, ५.१० प्रतिशत र ४.९१ प्रतिशत रहेको थियो।

२०७८ असारमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति नेपालमा ४.१९ प्रतिशत र सन् २०२१ को जुलाईमा भारतमा ५.५९ प्रतिशत रहेको छ।

आर्थिक वर्ष २०७७/७८ मा वार्षिक औसत थोक मुद्रास्फीति ७.६१ प्रतिशत रहेको छ। अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति ६.८७ प्रतिशत रहेको थियो।

२०७८ असारमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ८.२१ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.६० प्रतिशत रहेको थियो।

यस्तै आयात २८.७ प्रतिशतले र निर्यात ४४.४ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष आयात १५.६ प्रतिशतले घटेको थियो भने निर्यात ०.६ प्रतिशतले बढेको थियो।

विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ९.८ प्रतिशत र अमेरिकी डलरमा ८.२ प्रतिशतले बढेको छ।

आर्थिक तथा वित्तीय स्थिति अनुसार शोधनान्तर स्थिति १ अर्ब २३ करोड रुपैयाँले बचतमा छ। अघिल्लो वर्ष शोधनान्तर स्थिति २८२ अर्ब ४१ करोड रुपैयाँले बचतमा रहेको थियो।

कुल विदेशी विनिमय सञ्चिति ११ अर्ब ७५ करोड अमेरिकी डलर रहेको छ। उक्त सञ्चिति १०.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैङ्कले जनाएको छ।  आर्थिक वर्ष २०७७/७८ मा वार्षिक औसत तलब तथा ज्याला दर सूचकाङ्क १.६० प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष यस्तो सूचकाङ्क ९.४३ प्रतिशतले वृद्धि भएको थियो।

२०७८ असारमा वार्षिक बिन्दुगत तलब तथा ज्याला दर सूचकाङ्क २.७६ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क ७.४० प्रतिशतले वृद्धि भएको थियो। 

समीक्षा महिनामा ज्याला दर सूचकाङ्क ३.५६ प्रतिशतले वृद्धि भएकोमा तलब सूचकाङ्क यथावत् रहेको राष्ट्र बैङ्कले जनाएको छ। 

आर्थिक वर्ष २०७७/७८ मा कुल वस्तु निर्यात ४४.४ प्रतिशतले वृद्धि भई १४१ अर्ब १२ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो निर्यात ०.६ प्रतिशतले वृद्धि भएको

थियो। वस्तुगत आधारमा यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, एम.एस. बिलेट, चामल, सुन लगायतका वस्तुको आयात बढेको छ।  हवाईजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, भिडियो, टेलिभिजन तथा पार्टपुर्जा, कोल्डरोल्ड सिट इन्क्वाइल, सुपारी लगायतका वस्तुको आयात घटेको छ।

निर्याततर्फ तातोपानी, कञ्चनपुर र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ। आयाततर्फ तातोपानी र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा वृद्धि भएको छ।

भदौ १०, २०७८ बिहीबार १६:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।