अस्मिता हत्या प्रकरण : दुई महिनामा पनि आएन तथ्य

धनगढी : असार–५ मा जङ्गलमा मृत फेला गरेकी परशुराम नगरपालिका–८ की अस्मितादेवी धामी घटनाको दुई महिना बितिसक्दा पनि तथ्य अझै बाहिरिएको छैन।
प्रहरीले उनको पोस्टमार्टम र भिसेरारिर्पोटपनि सार्वजनिक गरेको छैन। अहिले सम्म पीडित परिवारले न न्याय पाए नत क्षतिपूर्ति नै। प्रहरीले अनुसन्धानका लागी शङ्कास्पद कसैलाई पनि नियन्त्रणमा लिएको छैन। यद्यपि अनुसन्धान भने जारी रहेको प्रहरीको दाबी छ।
घटनाको अनुसन्धाने गति नलिएपछि अस्मिताको न्यायको लागि गठित सङ्घर्ष समिति फेरि आन्दोलनमा उत्रिएको छ। यसअघि प्रधानमन्त्रीलाई पनि ज्ञापन पत्र बुझाएको समितिले पीडितले क्षतिपूर्ति पनि नपाएको भन्दै गत शुक्रवार परशुराम नगरपालिका घेराउ ग¥यो। ‘अस्मितालाई न्याय दे, बलात्कारीलाई फाँसी दे, सहमति कार्यान्वयन गर, महिला हिंसा बन्द गर’ जस्ता नारा लगाएर समितिले नगरपालिका घेराउ गरेको थियो।
अस्मिताको शव बुझ्नुभन्दा अगाडि उनका आफन्त र नगरपालिकाबिच नगरपालिकाले सात लाख ५० हजार र वडाबाट दुई लाख ५० हजार रुपैयाँ राहत दिने सहमति भएको थियो। तर, हालसम्म नगरपालिकाले राहत स्वरूप दिनुपर्ने रकम पनि नदिएको सङ्घर्ष समितिका संयोजक धनबहादुर बोहराले बताए।
घटनाको अनुसन्धानको प्रतिवेदन तत्काल सार्वजनिक गरिनुपर्ने, जमरानी आधारभूत स्वास्थ्य केन्द्रको नाम ‘अस्मिता’ आधारभूत स्वास्थ्य केन्द्र राखिनुपर्ने, उनका आफन्तलाई स्वास्थ्य केन्द्रमा रोजगारीको व्यवस्था हुनुपर्ने लगायतका माग सङ्घर्ष समितिको छ।
अस्मिताका श्रीमानलाई स्वास्थ्य केन्द्रमा कार्यालय सहयोगी राखिएको भए पनि नियुक्ति पत्र भने नगरपालिकाले अझै नदिएका बोहराले बताए।
‘अस्मिताको केस निर्मला पन्तको जस्तो नहोस् भनेर हत्यारा सार्वजनिक गर्न दबाब दिइरहेका छौ।’, अस्मिताका श्रीमान् अमर बहादुर धामीले भने, ‘दुई महिना समय बित्दा हत्यारा सार्वजनिक भएको छैन,न त प्रहरीले रिपोट नै सार्वजनिक गरेको छ।’
अस्मिताको न्यायका लागि पहिलो चरणको आन्दोलन पछि दोस्रो चरणको आन्दोलनको मिति सारिएको उनले बताए।
यसअघि अस्मिताको न्यायका लागि उनका आफन्त भदौ १ देखि ३ गतेसम्म कालोपट्टि बाँधेर प्रशासनमा धर्ना बसेका थिए।
प्रहरीले १० देखि १५ दिनमा ल्याबको रिपोर्ट आएपछि हत्यारा सार्वजनिक गर्ने आश्वासन दिएपछि थप आन्दोलनका कार्यक्रम स्थगित गरिएको सङ्घर्ष समिति संयोजक बोहराले बताए।
‘प्रहरीले १५ दिनमै हत्यारा सार्वजनिक गर्छौँ, भनेपछि हामीले हालका विरोध कार्यक्रम पनि स्थगित गरेका छौँ।’, आन्दोलन समिति संयोजक बोहराले भने, ‘हामीले १५ दिनको आश्वासन पाएका छौँ,त्यो अवधिमा पनि हत्यारा सार्वजनिक भएन भने स्वरूप परिवर्तन गरेर आन्दोलन चर्काउनेछौँ।’
अझै आएन भिसेरा रिपोर्ट
‘अनुसन्धानमा २० वर्ष पनि लाग्न सक्छ’
गत असार २ गते स्वास्थ्य केन्द्र जमरानीबाट कोरोनाको बचत खोप र स्वास्थ्य सामाग्री लिएर जोगबुडा अस्पताल पुर्याउन निस्केकी अस्मिताको शव ५ असारमा परशुराम नगरपालिका–९ को हट्वानी सामुदायिक वनमा फेला परेको थियो। घटना स्थलमा भेटिएको मोबाइल परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाएको थियो। त्यसबाट कुनै ठोस प्रमाण प्राप्त नभएको प्रहरीले जनाएको छ।
‘हामी भिसेरा रिपोर्ट कुरिरहेका छौँ,हालसम्म रिपोर्ट आएको छैन’, जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले भने, ‘अनुसन्धान जारी छ,ज्यानसम्बन्धी मुद्दाको २० वर्ष अनुसन्धानको समय हुन्छ। काम गर्दै जाने हो, घटनाको छिट्टै पनि अनुसन्धान पूरा हुन्छ, २० वर्ष पनि लाग्न सक्छ अनुसन्धान सकिएपछि हामी सबै तथ्य सार्वजनिक गर्छौँ।’
घटनापछि जिल्ला, सङ्घीय प्रहरी इकाई कार्यालय र सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) का विज्ञ टोली घटनास्थलमा पुगेका थिए।
उनीहरूले १५ देखि २० दिनसम्म घटनास्थलको अनुगमन र घटनाको अनुसन्धान गरी फर्किए ।
गत असार २ गते कोरोना खोप पुर्याउन हिँडेकी अस्मिता तीन दिनपछि ५ गते हट्वानी सामुदायिक वनमा बीभत्स रूपमा हत्या गरेको अवस्थामा मृत फेला परेकी थिइन्। उनको पोस्टमार्टम रिर्पोटले पनि हत्या भएको पुष्टि गरेको थियो।
भदौ ९, २०७८ बुधबार १०:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।