अशक्त बालिकालाई हेल्प मधेसीको सहयोग

अशक्त बालिकालाई हेल्प मधेसीको सहयोग

जनकपुरधाम : धनुषाकी एक असक्त बालिकालाई हेल्प मधेसीको मलेसिया च्याप्टरले उपचारमा सहयोग गरेको छ। 

तिघ्रामा घाउ भएर डेढ वर्षदेखि थला परेकी गणेशमान नगरपालिका–११ की ११ बर्सिया वन्दना सदालाई उपचारका लागि मङ्गलवार २५ हजार रुपैयाँ दिइएको हो। सहयोगको यो दोस्रो पटक सहित बालिका उपचारमा हेल्प मधेसीले ५० हजार रुपैयाँ दिएको छ।

पछिल्लो पटक दिइएको २५ हजार रुपैयाँ वैदेशिक रोजगारीका लागि मलेसियामा रहेका साह आलम दलानले पठाएका हुन्। एक महिना यता बालिकाको उपचार जनकपुरधामस्थित एसपी अर्थो अस्पतालमा भइरहेको छ। चिकित्सकहरूका अनुसार बालिका सदाको तिघ्राको हाड सडिसकेको भए पनि निको पार्न सकिने तर खुट्टाको वृद्धि भने रोकिने सम्भावना छ।

एसपी अर्थो अस्पतालले बालिकाको उपचार निःशुल्क गरिरहेको छ। प्रगतिशील युवा सञ्जाल डुमरियाका सदस्यहरू मार्फत एक महिना अघि बालिकाको स्वास्थ्य अवस्था र उपचार गराउन असमर्थ रहेको विषयमा जानकारी प्राप्त गरेपछि उनको उद्धार तथा उपचार सुरु भएको थियो।

यसअघि कतारमा रहेका धनुषाको सबैला नगरपालिका–९ भटिहनका आनन्द मण्डलले पठाएको पन्ध्र हजार र भटिहन युवा बचत समूहद्वारा प्राप्त दस हजार रकम गरी पच्चिस हजार रुपैयाँ बालिका सदालाई दिइएको हो।

 

भदौ ९, २०७८ बुधबार १०:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।