रौतहट घटनाले खुलायो पत्रकार र प्रहरीको नेक्सस, छानबिनमा तानिए एसपी

रौतहट : पत्रकारको मोटरसाइकलमा लागु औषधी राखेर फसाएको घटनामा जिल्लाका एसपी समेत संलग्न हुनसक्ने देखिएपछि प्रहरी प्रधान कार्यालयले रौतहटका प्रमुख सिद्धिविक्रम शाहलाई काठमाडौँ झिकाएको छ।
पत्रकार मोहम्मद मोजिबुल्लाहलाई नियोजित रूपमा लागु औषधको केसमा फसाउन संलग्न देखिएका पत्रकार महासङ्घ रौतहट शाखाका सहसचिव सञ्जय शहनीसँग भएको शाहको संवाद बाइएपछि एसपीको भूमिकासमेत छानबिनको दायरामा आएको हो।
पत्रकार मोजिबुल्लाह पक्राउ परेपछिको संवादमा शाह र घटनामा संलग्न रहेको भनिएका अर्का पत्रकारविचको संवादमा 'हिजो त काम भएछ नि है' भनेका छन्। मोबाइल संवाद पत्रकार पक्राउ घटनासँग सम्बन्धित रहेको देखिन्छ।
साउन ३२ मा रौतहटको गौर नगरपालिका–१ स्थित होटेल ग्रिन सिग्नलबाट निस्केका ईशनाथ नगरपालिका–८ घर भएका पत्रकार मोजिबुल्लाह र राजपुर नपा–७ घर भएका शेख गुलाब पक्राउ परेका थिए।
दुबैलाई लागु औषधको आरोपमा अनुसन्धानका लागि हिरासतमा राखियो। पछि होटेलको क्लोज सर्किट टेलिभिजनको फुटेजमा सादा पोसाकको प्रहरी समेतको संलग्नतामा नाइट्राभेट राखिदिएको खुलेको थियो।
शाहले पत्रकार सम्मेलन गरेर मोजिबुल्लाहले पार्किङ गरेर राखेको मोटरसाइकलमा पत्रकार महासङ्घ रौतहट शाखाका सहसचिव शहनी सहितको योजनामा १०५ ट्याब्लेट लागु औषधि नाइट्राभेट राखिएको सार्वजनिक गरेसँगै शाह र शहनीको घटनापछिको मोबाइल संवाद बाहिरिएको थियो।
मङ्गलवार नै प्रहरी प्रधान कार्यालयले शाहको भूमिकाबारे छानबिन गर्न एसएसपी कृष्णकुमार महतोको नेतृत्वमा समिति गठन गरेर उनलाई जिम्मेवारीबाट मुक्त गरेको छ। प्रधान कार्यालय स्रोतका अनुसार शाहलाई छानबिनका लागि काठमाडौँ झिकाइएको छ।
झुटो अपराधमा फसाउन संलग्न देखिएका जिप्रका रौतहटमा कार्यरत असई उदय यादव र प्रहरी जवान मनोज साह यसअघि नै निलम्बित भइसकेका छन्। यी दुवै सादा पोसाकका प्रहरी हुन्। जिल्लामा सादा पोसाकमा खटिने अधिकांश प्रहरी कार्यालय प्रमुख निकट हुन्छन्।
लागु औषधी राख्न प्रयोग गरिएका स्थानीय युवा धिरज यादव र जितेशकुमार यादवसमेत पक्राउ परिसकेका छन्।
भदौ ८, २०७८ मंगलबार २१:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।