कोरोना प्रभावित ऋणीलाई साँवा तथा ब्याज भुक्तान गर्न एक वर्ष समय थप 

कोरोना प्रभावित ऋणीलाई साँवा तथा ब्याज भुक्तान गर्न एक वर्ष समय थप 

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले कोरोना प्रभावित ऋणीहरूलाई साँवा तथा ब्याज दायित्व भुक्तानी गर्ने समय एक वर्ष थप गर्न निर्देशन दिएको छ।

पुस मसान्तसम्म भुक्तान गर्नुपर्ने साँवा तथा ब्याज दायित्वलाई एक वर्षसम्म म्याद थप गर्न राष्ट्र बैङ्कले निर्देशन दिएको हो। 

वाणिज्य बैङ्क, विकास बैङ्क र फाइनान्स कम्पनीहरूलाई एकीकृत निर्देशन जारी गर्दै राष्ट्र बैङ्कले एक वर्ष म्याद थप गर्न भनेको हो। सार्वजनिक यातायात, शिक्षण संस्था, रेस्टुरेन्ट, पार्टी प्यालेस, लघु, घरेलु, साना तथा मझौला व्यवसायीले यो सुविधा पाउनेछन्। 

राष्ट्र बैङ्कले कोरोनाबाट अति प्रभावित क्षेत्रमध्ये होटेल, ट्राभल, ट्रेकिङ र हवाई सेवा जस्ता बाह्य पर्यटकमा निर्भर रहनुपर्ने व्यवसायीलाई असार मसान्तसम्म पाक्ने ब्याजलाई छुट्टै हिसाब राखी दुई वर्ष सम्ममा कम्तीमा चार किस्तामा असुली गर्ने व्यवस्था मिलाउन भनेको छ। 

मौद्रिक नीतिमा भएका कार्यक्रमहरू कार्यान्वयन गर्न मंगलबार निर्देशन जारी गर्दै राष्ट्र बैङ्कले एक करोडसम्मको कृषि, हस्तकला तथा सीपमूलक व्यवसाय एवं उद्यम गर्नेलाई आधार दरमा थप २ प्रतिशत प्रिमियम तिरेरै ऋण पाउने व्यवस्था गरेको छ।

भदौ ८, २०७८ मंगलबार २०:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।