लुम्बिनीका मुख्यमन्त्रीले विश्वासको मत लिने, एमालेले बहिष्कार गर्ने 

लुम्बिनीका मुख्यमन्त्रीले विश्वासको मत लिने, एमालेले बहिष्कार गर्ने 

बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आजै विश्वासको मत लिने प्रस्ताव टेबुल गर्ने भएका छन्।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त केसीले आजै विश्वासको मत लिने प्रस्ताव टेबुल गर्ने कार्यसूची प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको छ। 

मुख्यमन्त्रीले विश्वासको मत लिन बस्ने प्रदेश सभा बैठक प्रतिपक्षी नेकपा एमालेले बहिष्कार गर्ने भएको छ। सल्लाह नगरी कार्यसूचीमा विश्वासको मत लिने प्रस्ताव राखेकाले बैठक बहिष्कार गर्ने एमाले संसदीय दलका प्रमुख सचेतक भुमिश्वर ढकालले बताए।

‘अजय शाही र विमला वलीलाई पदमुक्त गर्नुपर्ने मागमा सम्बोधन भएन,’ढकालले उकेरासँग भने,‘विश्वासको मत लिने प्रस्ताव पेस गर्ने विषयमा समेत छलफल गरिएन, हामी बहिष्कार गर्छौ।’

एमालेले सांसद शाही र वलीलाई पदमुक्त गर्नु पर्ने माग राखेर भदौ १ गतेदेखि सुरु भएको प्रदेश सभाको नवौँ अधिवेशन अवरुद्ध गर्दै आएको छ। 

कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले एमालेले बहिष्कार गरे पनि प्रदेश सभामा मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्ताव टेबुल हुने बताए।

भदौ ७, २०७८ सोमबार १५:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।