टीकापुर घटनाको ६ वर्ष : प्रतिवेदन नै सार्वजनिक भएन

धनगढी : ८ जनाको ज्यान गएको टिकापुर घटनाको आज ६ वर्ष पूरा भएको छ।
२०७२ भदौ ७ मा भएको उक्त हिंसात्मक घटनामा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लक्ष्मण न्यौपाने सहित नेपाल प्रहरीका ५ जना तथा सशस्त्र प्रहरीका २ र १ बालक सहित ८ जनाको मृत्यु भएको थियो।
घटनामा नेपाल प्रहरीका प्रहरी निरीक्षक द्वय बलराम विष्ट र केशव बोहोरा, प्रहरी जवान लक्ष्मण खड्का र लोकेन्द्र चन्द,सशस्त्र प्रहरी हवलदार रामबिहारी थारु र सहायक हवलदार ललित साउद, घरमा बसिरहेका दुई वर्षीय बालक टेकबहादुर साउदको गोलीको लागि मृत्यु भएको थियो।
आठ जनाको ज्यान जाने गरी भएको घटनाको मुख्य योजनाकार रहेको अभियोगमा रेसम चौधरीलाई पक्राउ गरी मुद्दा चलाइएको थियो। उनी अहिले केन्द्रीय कारागारमा छन्।
घटनाको ६ वर्ष पुगे पनि हाल सम्म सरकारद्वारा गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक भएको छैन। थरुहट पार्टी आफू हरू माथि अन्याय भएको भन्दै अझै आन्दोलनमा छ।
घटनापछि सत्य तथ्य पत्ता लगाउन बनाइएको लाल आयोगले प्रतिवेदन पेस नगरेको थरुहटका नेताहरूको गुनासो छ। उनीहरू आफ्ना नेता तथा कार्यकर्तालाई झुटो आरोपमा फसाइएको बताउँछन्।
भदौ ७, २०७८ सोमबार ०८:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।