एमालेलाई लुम्बिनीको पत्र : वलीलाई पदमुक्त गर्न नमिल्ने, शाहीलाई नसकिने

बुटवल : लुम्बिनी प्रदेश सभाका सदस्य अजय शाही र विमला वली पदमुक्त नहुने भएका छन्।
नेकपा एमाले प्रदेश संसदीय दलले सूर्य चिह्नमा चुनाव लडेका शाही र वली सत्ता गठबन्धनमा लागेपछि पदमुक्त गर्न दिएको निवेदन प्रदेश सभा सचिवालयले अस्वीकार गरेको छ।
शाही र वलीले सचिवालयमा बुझाएको व्यक्तिगत विवरणका आधारमा पदमुक्त गर्न नमिल्ने निर्णय गरेको पत्र एमाले संसदीय दललाई पठाइएको प्रदेश सभाका सचिव दुर्लभकुमार थापाले जानकारी दिए।
प्रदेश सभा नियमावलीको दफा ३४ अनुसार सांसद वली पदमुक्त भएको सूचना पत्र सदनमा सुनाउन नमिल्ने र शाहीको नसकिने पत्र पठाइएको थापाले जानकारी दिए।
वली नेकपाबाट निर्वाचित सांसद हुन् भने शाही सूर्य चिन्ह लिएर विजयी भएका स्वतन्त्र सांसद हुन्।
वलीले सर्वोच्च अदालतको फागुन २२ गते फैसला अनुसार आफू नेकपा माओवादी केन्द्रमा रहेको विवरण सचिवालयमा बुझाएकाले पदमुक्त गर्न नमिल्ने पत्र पठाइएको सचिव थापाले उकेरालाई जानकारी दिए।
यस्तै शाहीले निर्वाचनमा हृदयेश त्रिपाठी र एमाले महासचिव ईश्वर पोखरेलबीच सूर्य चिह्नबाट चुनावमा भाग लिए पनि स्वतन्त्र रूपमा राजनीतिक गतिविधि गर्न पाउने हस्ताक्षर गरेर पत्र सचिवालयमा बुझाएका थिए। त्यही पत्रको आधारमा शाही पदमुक्त भएको पत्र सदनमा पढेर सुनाउन नसकिने निर्णय भएको उनले जानकारी दिए।
शाही अहिले मुख्यमन्त्री केसीको मन्त्रीपरिषदमा विनाविभागीय मन्त्री छन्। वली सत्ता गठबन्धन दलमा आबद्ध छिन्। एमाले लुम्बिनी प्रदेशले भने दुवै सांसदलाई पदमुक्त गर्न माग गर्दै प्रदेश सभा बैठक अवरुद्ध गर्दै आएको छ।
प्रदेश सभाको बैठक सोमबार दिउँसो १ बजेका लागि बोलाइएको सचिव थापाले बताए। प्रदेश सभामा एमालेका ३८, कांग्रेसका १९, सभामुख पूर्णबहादुर घर्तीसहित माओवादी केन्द्रका १९, जनता समाजवादी पार्टीका ३, राष्ट्रिय जनमोर्चाका १ र स्वतन्त्र १ सांसद छन्।
प्रदेशको सभाको पहिलो बैठकमै विश्वासको मत लिने तयारी गरेका मुख्यमन्त्री केसीले एमालेको अवरोधका कारण प्रस्ताव टेबल गर्न पाएका छैनन्। एमालेले संसद् चल्न दिए लगत्तै विश्वासको मत लिने प्रस्ताव टेबुल गर्ने तयारी रहेको मुख्यमन्त्री कुलप्रसाद केसीको सचिवालयले जनाएको छ। एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले संसदीय दलले गरेको कारबाही सभामुखले रोक्ने अधिकार नभएको दाबी गरे। उनले दलको निर्णय कार्यान्वयन नभएसम्म संसद बैठक चल्न नदिने बताए।
एमाले नेता शङ्कर पोखरेलले राजीनामा दिएपछि माओवादी केन्द्रका केसी मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।
भदौ ६, २०७८ आइतबार १४:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।