सेयर बजारमा इन्साइडर ट्रेडिङ गर्नेमाथि कारबाही गर्ने अर्थ मन्त्री शर्माको प्रतिबद्धता

सेयर बजारमा इन्साइडर ट्रेडिङ गर्नेमाथि कारबाही गर्ने अर्थ मन्त्री शर्माको प्रतिबद्धता
संसद्को अर्थ समितिको बैठकमा आफ्नो धारणा राख्दै अर्थमन्त्री जनार्दन शर्मा

काठमाडौँ  : अर्थमन्त्री जनार्दन शर्माले सेयर बजारमा इन्साइडर ट्रेडिङ गरेका नियामक निकायका अधिकारीलाई छानबिनपछि कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्।

नियामक निकायकै अधिकारीहरूले इन्साइडर ट्रेडिङ गरेको सार्वजनिक भएपछि शुक्रवार संसद्को अर्थ समितिको बैठकमा आफ्नो धारणा राख्दै मन्त्री शर्माले छानबिन समितिको प्रतिवेदन आएपछि कारबाही गर्ने प्रतिबद्धता जनाएका हुन्। सेयर बजारको नियामक निकाय धितो पत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गाना र नेपाल स्टक एक्सचेन्जका सिइओ चन्द्रसिंह साउदले सर्वोत्तम सिमेन्टको गोल्डेन सेयर खरिदमा इन्साइड ट्रेडिङ गरेको सार्वजनिक भएको थियो।

ढुङ्गानाले छोरीको नाममा र साउदले श्रीमतीको नाममा ठुलो परिणामको सेयर खरिद गरेको सार्वजनिक भएपछि संसद्को अर्थ समितिले चासो राखेको हो। समितिको चासोपछि बैठकमा सहभागी भएका मन्त्री शर्माले सम्बन्धित व्यक्तिले दिएको स्पष्टीकरण चित्त बुझ्दो नभएकाले छानबिनका लागि समिति बनाएको जानकारी दिएका थिए। बैठकमा छानबिन समितिको प्रतिवेदन आउन साथ दोषी देखिए कारबाही गर्ने बताए।

‘अहिले अनियमितताको बारेमा उठेका प्रश्नका बारेमा यही नै भनेर निष्कर्ष निकाल्नु भन्दा पनि छानबिन बाट प्राप्त भएको रिपोर्टको आधारमा मात्रै भन्न सकिने भएको हुनाले त्यहाँको यथार्थ कुरा आइसकेपछि  त्यस बारेमा सार्वजनिक गर्न, आवश्यक प्रक्रिया चाल्न स्वाभाविक हुने भएकाले हाम्रो ध्यान त्यसमा केन्द्रित भएको छ।’, अर्थमन्त्री शर्माले बैठकमा भने, ‘छानबिन समितिलाई पनि हामीले धेरै समय दिएका छैनौँ। अब केही दिनमै समितिले हामीलाई रिपोर्ट बुझाउनेछ।’ 

संसद्को अर्थ समितिले ढुङ्गाना र साउदलाई बर्खास्त गरेर कारबाही अघि बढाउन सरकारलाई निर्देशन दिएको छ। पदमा बहाल रहँदा अनुसन्धानमा प्रभाव पर्ने भन्दै समितिले दुबैलाई बर्खास्त गरी छानबिन अघि बढाउन निर्देशन दिएको हो। 

भदौ ४, २०७८ शुक्रबार १७:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।