धितोपत्र र नेप्सेका पदाधिकारीलाई कारबाही गर्न निर्देशन

धितोपत्र र नेप्सेका पदाधिकारीलाई कारबाही गर्न निर्देशन

काठमाडौँ : प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले सर्वोत्तम सिमेन्टको सेयर कारोबारमा संलग्न धितो पत्र बोर्डका अध्यक्ष र नेप्सेका पदाधिकारीमाथि कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। 

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले बोर्ड अध्यक्ष भीष्मराज ढुङ्गाना र नेप्सेका सिइओ चन्द्रसिंह साउदले पदीय दुरुपयोग गरी अनुचित लाभ लिएको देखिएको भन्दै आवश्यक छानबिन गरी कारबाही  गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो।

अर्थ मन्त्रालयले नै छानबिन समिति बनाएकाले अध्ययन समितिको प्रतिवेदन समितिलाई पनि बुझाउनु र सोही अनुसार कारबाही गर्नु भनेर निर्देशन दिएको समिति सभापति कृष्ण प्रसाद दाहालले जानकारी दिए।

बैठकले पुँजी बजारको दिगो विकास र स्थायित्व कायम गर्दै यस क्षेत्रमा स्वच्छता, पारदर्शिता, सदाचार, नैतिकताका साथ जिम्मेवारी र जबाफदेहिता प्रवर्द्धन गर्न नीतिगत, कानुनी, संरचनात्मक लगायत सुधारको खाका तयार गरी समितिलाई जानकारी गराउन पनि भनेको छ। 

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पनि मन्त्रालयले आन्तरिक रूपमा समिति बनाएर छानबिन गरिरहेको र प्रतिवेदनका आधारमा कारबाही गरिने बताएका छन्। उनले सर्वोत्तमको सेयर खरिदका विषयमा मन्त्रालयले स्पष्टीकरण सोधिएको जानकारी दिए। 

बैठकमा समिति सदस्यहरूले नियामक निकायको नेतृत्वमा बसेर भित्री सूचनाको आधारका सेयर किनिएको भन्दै छानबिन गरी कडा कारबाही गर्नुपर्ने माग गरेका थिए।

सांसद रामकुमारी झाँक्रीले बोर्डका अन्य कर्मचारीलाई पनि प्रभावमा पार्ने देखिएकाले संलग्नलाई तत्कालै निलम्बन गरी छानबिन गर्नुपर्ने बताइन। त्यस्तै सांसद सुरेन्द्र पाण्डेले उच्चस्तरीय समिति बनाएर छानबिन गर्नुपर्ने र सरकारले पनि कडा कानुन निर्माण गर्नुपर्ने बताए। 

बुक बिल्डिङ विधिबाट सेयर निष्कासनको तयारीमा रहेको सर्वोत्तम सिमेन्टको सेयर बोर्ड अध्यक्ष ढुङ्गानाको छोरी र नेप्सेका सिइओ साउदको श्रीमतीले खरिद गरेको भन्दै समितिले यसअघि ढुङ्गाना र साउदलाई बोलाएर छलफल गरेको थियो।

भदौ ४, २०७८ शुक्रबार १५:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।