तालिबानको आश्वासनमा पटक्कै विश्वास गर्दैनन् अफगानी महिला

तालिबानले भन्यो, ‘शरिया कानुन प्रणाली अन्तर्गत महिला अधिकार सुरक्षित गर्न प्रतिबद्ध छौं।’
तालिबानले अफगानिस्तान कब्जा गरेपछि मंगलबार पहिलो पटक औपचारिक रुपमा पत्रकार सम्मेलन गरेको थियो। पत्रकार सम्मेलनमा तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिद क्यामेराको सामुन्ने देखिएका थिए।
तर, तालिबानको शासनमा महिला शरिया कानुन अन्तर्गत अध्ययन गर्न र काम गर्न सक्छन् तर यो कानुन कसरी तल्लोस्तरसम्म लागू हुनेछ भन्नेबारे कुनै स्पष्टता भने छैन।
शरिया कानुन इस्लामको त्यो कानुनी व्यवस्था हो, जो इस्लामको पवित्र मानिएको पुस्तक कुरान, पैगम्बरमा आधारित इस्लामको मुल शिक्षा र इस्लामी विद्वानले जारी गरेको फतवामा आधारित छ।
के महिलालाई भोट दिने अधिकार छ?, के उनीहरु कुनै पार्टीमा सामेल हुन सक्छन्? के उनीहरु न्यायाधीश वा खेलाडी बन्न सक्छन्? अहिलेसम्म यी प्रश्नहरुको उत्तर दिइएको छैन।
पत्रकार सम्मेलनमा तालिबान नेता जबिहुल्लालाई देशमा महिलाको भविष्यबारे धेरै प्रश्न सोधिएको थियो तर कुनै प्रश्नको सिधा जवाफ दिनुको सट्टा उनले भने, ‘नयाँ नियमहरु बन्नेछन् र नयाँ प्रशासन बन्नेछ।’
उनले स्वास्थ्य, कानुन, शिक्षा र पुलिसमा महिलाको आवश्यकता हुने तर त्यहाँ कुन स्तरमा उनीहरुलाई सामेल गर्ने भन्नेबारे अझै कुनै स्पष्टता छैन। अफगानिस्तानका महिलाहरु तालिबानका यस्ता आश्वासनमा भने विश्वास गर्दैनन्।
काबुलमा टेलिभिजनबाट पत्रकार सम्मेलन सुन्दै गरेकी एक महिलाले भनिन्, ‘तालिबानले भनेका कुराहरुमा मलाई पूर्ण विश्वास छैन।’
अर्की महिलाले भनिन्, ‘यो उनीहरुको चाल हो। उनीहरुले हामीलाई लोभ्याइरहेका छन्। जब हामी घरबाट बाहिर निस्कनेछौं तब उनीहरुलाई हामीलाई सजाय दिन सहज हुनेछ।’
अफगानिस्तानका धेरै महिला तालिबानको दावीमा विश्वास गर्दैनन्। तर केही महिलाले तालिबानको महिला अधिकारको दृष्टिकोणको स्वागत गरेका छन्। एक महिला भन्छिन्, ‘यदि मैले मेरो पढाइ र काम सहजै गर्न सक्छु भने यहीे मेरो लागि स्वतन्त्रताको परिभाषा हुनेछ।’
उनले भनिन्, ‘मलाई हिजाब लगाउने कुरामा कुनै आपत्ति छैन। तर अध्ययन र काम गर्नसक्ने वातावरण हुनुपर्छ। म इस्लामी देशमा बस्छु र म बुर्का बाहेक कुनै पनि इस्लामी पहिरनहरु लगाउनको लागि तयार छु। तर बुर्का लगाउने कुरालाई स्वीकार गर्न सक्दिनँ किनकी यो इस्लामी पहिरनको हिस्सा होइन।’
(बिबिसी हिन्दीबाट साभार)
भदौ २, २०७८ बुधबार ११:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।