अध्यादेश आएको २ घण्टाभित्र नयाँ पार्टी गठन गर्छौं : मेटमणि चौधरी

तत्कालै ओलीले स्थायी कमिटी र संसदीय दलको बैठक बोलाएर माधव नेपालसहित एमालेका १४ सांसदलाई पदमुक्त गर्ने निर्णय गरे। मेटमणि चौधरीले पनि नेपालसँगै पार्टीको कारबाहीमा परेर सांसद पद गुमाएका छन्।
सरकारले राजनीतिक दल फुटाउन सहज हुने गरी अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस गरेको केही घण्टामै पार्टीको कारबाहीमा परेका उनै चौधरीसँग उकेराले गरेको कुराकानी:
नेकपा एमालेको संस्थापन पक्ष केपी ओली समूहले तपाईंहरुलाई कारबाहीको घोषणा गरेको छ, अब तपाईंहरू कसरी अघि बढ्ने योजना बनाउनुभएको छ?
सुरुमा त यो ओलीको कारबाहीको कुरा छ नि, जीवनभरि कारबाही गर्ने र खरानी बनाउने उद्देश्य हो। यो कारबाहीको कुनै अर्थ छैन। सरकारले ल्याएको राजनीतिक दल सम्बन्धी अध्यादेश राष्ट्रपतिले जारी गरेको १/२ घण्टाभित्र हामी निर्वाचन आयोगमा गएर नयाँ पार्टी गठन गर्छौँ।
हाम्रो समूहमा रहेका सबै जिल्ला र स्थानीय तहका साथीहरूलाई इन्ट्याकमा राखेर ४-५ महिनापछि सबै कम्युनिस्ट पार्टीका साथीहरूसँग पार्टी एकताको लागि आव्हान गर्छौँ। र, निर्वाचनसम्म हामी विचार मिल्ने पार्टीहरूसँग एकता गरी सक्ने स्टाटिजिका साथ अघि बढेका छौँ।
अहिले एमालेको माधव नेपाल समूहलाई टार्गेट गरेर सरकारले अध्यादेश ल्याएको भन्ने चर्चा छ, के यो चर्चा सत्य हो?
हामीले चाहेको भनेको विद्यमान ऐनमा र को ठाउँमा वा मात्र भए हुन्छ भन्ने हो। ४० प्रतिशत त हामीसँग अहिले पनि छ। पछिल्लो समय महन्थ ठाकुरजीहरूले प्रधानमन्त्रीसँग आग्रह गरेकाले उहाँहरूलाई टार्गेट गरेर २० प्रतिशतको थ्रेसहोल्ड आएको हो।
अध्यक्ष ओलीको टिमले तपाईंहरुलाई कारबाही गरेको छ, यस विरुद्ध कानुनी उपचार खोज्नै सम्बन्धमा यहाँहरूको सोच के छ?
त्यो विषयमा पनि छलफल भइरहेको छ। केही साथीहरू पार्टी मिलाउन पनि लागिरहनुभएको छ, त्यहाँ पनि छलफल होला। ब्याक त हुनै पर्छ, भइहाल्छ। हामीलाई कारबाही गर्न त संसदीय दल सर्वसम्मत रूपमा निर्णय गरेर सभामुखले घोषणा गर्नुपर्छ। अहिले संसदीय दलमा हाम्रो उपस्थिति छैन।
केन्द्रीय कमिटीको बैठक बस्न सकेको छैन। २०३ जनाको कमिटीको केन्द्रीय कमिटी छ एमालेको। अनि कारबाही त ठहर हुने कुरै भएन। विगतमा पनि धेरै पटक हामीलाई कारबाहीको डण्डा देखाउने गरेको थियो।
अध्यक्षले संसदीय दलले हटाएको भनेर चर्चा गरेको सुनेका छौँ। यसले कुनै अर्थ, भ्यालिड, ठहर पाउँदैन। यो मिनिङ लेस र भ्यालु लेस हुन्छ यस कारण यो ठाउँबाट ओलीले पछाडि हट्नैपर्छ।
सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याउने बित्तिकै पार्टीमा केन्द्रीय सदस्य सङ्ख्या थपेर २६० पुर्याइएको छ, तपाईंहरुलाई अप्ठ्यारो बनाउन त्यो सङ्ख्या थपिएको हो?
त्यसको कुनै अर्थ छैन। दुनियाँले देखेका छन्, ओलीलाई मन लागेको कुरा संविधानमा लेखिनुपर्ने। आफैं लेखिनुपर्ने। उनले सोचेको चिज भइहाल्नुपर्ने त्यो तरिकाले त चल्दैन नि। कानुन छ, अरू राजनीतिक दल छ, स्थापित मूल्य र मान्यता छ।
ओली यति धेरै अराजक भइसकेका रहेछन् आफूलाई लागेको सब ठिक भन्ने जुन स्तरसम्म पुगेको छ त्यो निकै ठूलो अराजक हो, अराजकताको पराकाष्ठा हो। त्यसैले यिनले १२ सय १५ सयको कमिटी बनाउँछन् फेरि कहिले घटाउँछन्, कहिले थप्छन् यो त लगभग विवेक गुमाएका मान्छेले गर्ने काम हो। ओली र विवेक गुमाएका मान्छेमा म कुनै भिन्नता पाउदिनँ।
हिजो ओली सरकारका पालामा अध्यादेश ल्याएकोमा विरोध गर्ने अहिले समर्थन गरिरहेका छन्, त्यति बेला समर्थन गर्ने अहिले विरोध गरिरहेका छन्, के यो समय अनुसार राजनीतिक दल र नेताको स्वार्थ मिल्ने र नमिल्ने भएकाले यस्तो भएको हो?
त्यति बेला अध्यादेश आउनु र अहिले आउनुमा फरक स्थिति छ। त्यति बेला हामीमा पनि अहिलेको जस्तो अवस्था थिएन। जसपामा पनि समान्य नै थियो। खाली पार्टी फुटुन् भन्ने उद्देश्यले अध्यादेश ल्याइएको थियो। अहिले अवस्था फेरिएको छ। जसपाभित्र महन्थ ठाकुरजीहरू टुहुरा जस्ता भएका छन्। दलविहीन अवस्थामा छन्।
नेकपा एमालेभित्र पनि यिनीहरू किन बसिरहेका होलान् भन्ने केही नेतालाई लागिरहेको छ। दोस्रो कुरा संविधानको मौलिक हकमा समेत दल खोल्न पाउने अधिकार प्रत्याभूत गरिएको छ। आफूले मन परेको पार्टी खोल्न पाउने भन्ने छ। हिजो प्रसङ्ग मिलेको थिएन, आज आवश्यक परेको छ। त्यसैले यो कदम संविधान अनुसार नै छ।
भदौ २, २०७८ बुधबार १०:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।