तालिबान रिटर्न्स : सत्ताच्यूत भएको २० वर्षमा सत्तामा !

तालिबान रिटर्न्स : सत्ताच्यूत भएको २० वर्षमा सत्तामा !

सन् २००१ मा अमेरिकी नेतृत्वको सेनाले तालिबानलाई अफगानिस्तानको सत्ताबाट हटायो। तर सत्ताच्यूत भएपछि विद्रोही तालिबानले आफूलाई बलियो बनाउँदै लग्यो र अहिले पुनः अफगानिस्तान नै कब्जामा लिएको छ।

अमेरिकाले आफ्नो नेतृत्वको सेनालाई आफगानिस्तानबाट फिर्ता गर्ने निर्णय गरेपछि विद्रोही तालिबान सरकार विरुद्ध आक्रामक बन्दै आएको छ। झन्डै दुई दशक अफगानिस्तानमा बसेको सेनालाई अमेरिकाले ११ सेप्टेम्बर २०२१ सम्म फिर्ता लैजाने तयारी गरिरहेको छ।

दोहा सम्झौता
तालिबानले सन् २०१८ मा अमेरिकासँग वार्ता सुरु गरेको थियो। फेब्रुअरी २०२० मा दोहामा दुई पक्षबीच एउटा सम्झौता भएको थियो, जहाँ अमेरिकाले अफगानिस्तानबाट आफ्ना सेना फिर्ता गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो र तालिबानले अमेरिकी सैनिकमाथिको आक्रमण रोक्न सहमति जनाएका थिए।

सम्झौतामा तालिबानले अल कायदा र अन्य चरमपन्थी संगठनहरुलाई आफ्नो नियन्त्रणमा रहेको क्षेत्रमा प्रवेश रोक लगाउन र राष्ट्रिय स्तरको शान्ति वार्तामा संलग्न हुने वाचा गरेको थियो। तर सम्झौताको अर्को वर्षदेखि तालिबानले अफगानिस्तानमा नागरिक र सेनाहरुलाई मध्यनजरमा राख्न थाले। हाल अमेरिकी सेना छोड्ने तयारीमा हुँदाहुँदै पनि तालिबान अफगानिस्तानमा हावी हुन गयो।

कहिले भयो तालिबानको सुरुवात
पश्तो भाषामा विद्यार्थीहरुलाई तालिबान भनिन्छ। नब्बेको दशकको प्रारम्भमा सोभियत संघले अफगानिस्तानबाट आफ्ना सेनालाई बोलाउने क्रममा तालिबानको उदय भयो।

पश्तो आन्दोलन सबैभन्दा पहिले मदरसाबाट सुरु भएको मानिन्छ र यसको लागि साउदी अरबले आर्थिक सहयोग गरेको थियो। यो आन्दोलनमा सुन्नी इस्लामका कट्टरपन्थी रहेको प्रचार गरियो।

यही क्रममा तालिबान अफगानिस्तान र पाकिस्तानको बीचमा पर्ने पश्तुन क्षेत्रमा शान्ति र सुरक्षा स्थापित गर्न, साथसाथै शरिया कानुनको कट्टरपन्थी संस्कार कार्यान्वयन गर्नको लागि आश्वासन दिइरहेका थिए।

सोही समयमा तालिबानको प्रभाव दक्षिण–पश्चिम अफगानिस्तानमा बढ्दै गयो। सेप्टेम्बर, १९९५ मा तालिबानले इरानको सिमानामा रहेको हेरात प्रान्त कब्जा गरे र त्यसको एक वर्षपछि तालिबानले अफगानिस्तानको राजधानी काबुल कब्जा गरेको थियो।

अफगानिस्तानमा तालिबानको नियन्त्रण
तालिबानले अफगानिस्तानका राष्ट्रपति बुरहानुद्दिन रब्बानीलाई सत्ताबाट हटाए। रब्बानी सेनाको आक्रमणको विरोध गर्ने अफगानिस्तान मुजाहिद्दिनका संस्थापक सदस्यहरुमध्ये एक थिए।

सन् १९९८ सम्म तालिबानले अफगानिस्तानको ९० प्रतिशत हिस्सा नियन्त्रणमा लिएको थियो। सोभियत सेनाहरु फर्केपछि अफगानिस्तानका आमजनता मुजाहिद्दिनको अत्याचार र आपसी संघर्षसँग हैरान भएर तालिबानको स्वागत गरेका थिए।

भ्रष्टाचार नियन्त्रण, अराजकताको स्थितिमा सुधार, सडक निर्माण र नियन्त्रण क्षेत्रहरुमा व्यापार पूर्वाधार र सुविधाहरु प्रदान गर्ने कामहरुले सुरूवातमा तालिबान लोकप्रिय बन्यो। सोही समयमा तालिबानले सजायको इस्लामिक विधिहरु लागू गरेको थियो, जसमा हत्या र व्यभिचारका दोषीहरुलाई सार्वजनिक रुपमा फासी र चोरीका दोषीहरुको विच्छेदन। पुरुषको लागि दाह्री र महिलाको लागि पूरा शरीरको घुम्टो अनिवार्य गरिएको थियो। तालिबानले टेलिभिजन, संगीत र सिनेमामा प्रतिबन्ध र १० वर्ष वा सोभन्दा माथिका केटीहरुलाई विद्यालय जान प्रतिबन्ध लगायो।

तालिबान सरकारलाई मान्यता दिने देशहरु
तालिबानलाई मानव अधिकार उल्लंघन र सांस्कृतिक दुव्र्यवहारका धेरै आरोपहरु लाग्न सुरु भएको थियो। २००१ मा तालिबानले अन्तर्राष्ट्रिय विरोधका (बाबजुद) अफगानिस्तानको बामियानमा एक बुद्धको मूर्ति भत्काउनु यसको एउटा कुख्यात उदाहरण हो।

पाकिस्तानले तालिबान गठन र बलियो बनाउने आरोपलाई लगातार अस्वीकार गर्दै आएको छ। तर यसमा कुनै शंका छैन कि, सुरुमा तालिबान आन्दोलनमा सामेल भएका मानिसहरु पाकिस्तानको मदरसाबाट आएका थिए। अफगानिस्तान तालिबानको नियन्त्रणमा हुँदा पाकिस्तान तालिबान सरकारलाई मान्यता दिने विश्वका तीन देशहरुमध्ये एक थियो। पाकिस्तान बाहेक साउदी अरब र संयुक्त अरब इमिरेट्सले पनि तालिबान सरकारलाई स्वीकार गरेका थिए।

मलाला युसुफजाई तालिवानको नजरमा
पाकिस्तान तालिबानसँग कूटनीतिक सम्बन्ध तोड्ने देशहरुमध्ये अन्तिम देश थियो। तालिबानले उत्तर पश्चिममा आफ्नो नियन्त्रणमा रहेको क्षेत्रबाट पाकिस्तानलाई अस्थिर पार्ने धम्की दिएको थियो। सोही अवधिमा तालिबान चरमपन्थीहरुले मलाला युसुफजईलाई अक्टोबर, २०१२ मा मिंगोरा सहरमा उनी विद्यालयबाट घर जाँदै गर्दा गोली हानेका थिए। तालिबान शासनको अत्याचारमा छद्म नाम लेख्नको लागि १४ वर्षीया मलालासँग रिसाएको थियो। मलाला यस घटनामा नराम्ररी घाइते भएकी थिइन्। त्यसबेला यो घटनाको पाकिस्तानमा मात्र नभएर अन्तर्राष्ट्रिय स्तरमा निन्दा भएको थियो।

मलाला युसुफजाई

यो घटनाको दुई वर्षपछि तालिबान चरमपन्थीहरुले पेसावरको एक स्कुलमा हमला गरे। त्यसपछि पाकिस्तानमा तालिबानले गरेका राम्रा कामको प्रभाव धेरै कम भयो। सन् २०१३ मा अमेरिकी ड्रोन हमलामा पाकिस्तानमा तालिबानको कमान्ड गर्ने हकिमुल्लाह मेहसुद सहित तीन महत्वपूर्ण नेता मारिए।

अल कायदाको ठेगाना
सेप्टेम्बर ११, २००१ मा न्युयोर्कको वल्र्ड ट्रेड सेन्टरमा हमला भएपछि विश्वव्यापी ध्यान तालिबानतर्फ आयो। तालिबानमाथि आक्रमणका मुख्य संदिग्ध ओसामा बिन लादेन र अल कायदाका लडाकुहरुलाई आश्रय दिएको आरोप लगाइएको थियो। अक्टोबर ७, २००१ मा एक अमेरिकी नेतृत्वको सैन्य गठबन्धनले अफगानिस्तानमा आक्रमण गर्यो र डिसेम्बरको पहिलो हप्तामा तालिबानको शासन समाप्त भयो।

संसारको सबैभन्दा ठूलो खोज अभियानपछि पनि ओसामा बिन लादेन र तत्कालीन तालिबान प्रमुख मुल्ला मोहम्मद उमर र उनका अन्य सहयोगीहरु अफगानिस्तानबाट भाग्न सफल भए। तालिबान गुटका धेरै मानिसहरुले पाकिस्तानको क्वेटा सहरमा शरण लिए र उनीहरुले त्यहाँबाट मानिसहरुलाई निर्देशित गर्न थाले। तर, पाकिस्तान सरकारले क्वेटामा तालिवानको उपस्थितिलाई सधैं अस्वीकार गर्दै आएको छ।

असुरक्षा र हिंसा ठूलो संख्यामा
विदेशी सैनिकहरुको उपस्थिति हुँदाहुँदै पनि तालिबानले विस्तारै आफैंलाई बलियो बनायो र अफगानिस्तानमा आफ्नो प्रभाव बढायो। यसको नतिजाको रूपमा २००१ पछि कहिल्यै नदेखिएको असुरक्षा र हिंसाको वातावरण देशमा फेरि देखा पर्न थालेको थियो।

सेप्टेम्बर, २०१२ मा तालिबान लडाकुहरुले काबुलमा धेरै हमलाहरु गरे र नेटो शिविरहरुमा छापा मारे। सन् २०१३ मा तालिबानले कतारमा कार्यालय खोल्ने घोषणा गरेपछि शान्तिको आशा जागेको थियो तर तालिबान र अमेरिकी सेनाको एक अर्कोबीच विश्वास कम थियो, जसको कारण हिंसा रोकिएन।

अगस्ट, २०१५ मा तालिबानले मुल्ला उमरको मृत्यु दुई वर्षभन्दा बढी संगठनले नखुलाएको स्वीकार गरेको थियो। मुल्ला उमरको कथित स्वास्थ्य समस्याका कारण पाकिस्तानको एक अस्पतालमा मृत्यु भएको महिनामा नै समूहले मुल्ला मंसुरलाई नयाँ नेताको रूपमा चुनावको घोषणा गरेको थियो।

अमेरिका र तालिबानबीच सम्झौता
तालिबानले २००१ को पराजयपछि पहिलो पटक एउटा प्रान्तको राजधानीमाथि नियन्त्रण प्राप्त गरेको थियो। उनीहरुले रणनीतिक रुपमा महत्वपूर्ण कुन्दुज सहरमा नियन्त्रण स्थापित गरे। मुल्ला मंसुर मे २०१६ मा अमेरिकी ड्रोन हमलामा मारिए र संगठनको कमाण्ड उसको (डिप्टी) रहेको मौलवी हिब्तोल्लाह अखुन्जादालाई सुम्पिएको थियो, जो हाल तालिबानको नेतृत्वमा छन्।

पाकिस्तानी तालिबानका नेता हकिमुल्लाह मेहसुद। उनको मृत्यु सन् २०१३ मा अमेरिकी ड्रोन हमलामा भएको थियो।

फेब्रुअरी, २०२० मा सहमति वार्ताको धेरै राउन्डपछि अमेरिका र तालिबानबीच शान्ति सम्झौता भएको थियो। त्यसपछि, तालिबानले सहरहरु र सैन्य आधारहरुमा हमलापछि केही विशेष मानिसहरुलाई लक्षित गर्न थाले, जसका कारण अफगानिस्तानका मानिसहरुलाई आतंकित बनायो।

अफगानिस्तान सरकारलाई तालिबानबाट खतरा
आक्रमणहरुमा तालिबानले पत्रकारहरु, न्यायाधीशहरु, शान्ति कार्यकर्ताहरु र सत्तामा रहेका महिलाहरुलाई लक्षित गरी कट्टरपन्थी विचारधारा होइन तर रणनीति मात्र परिवर्तन गरेको थियो।

अन्तर्राष्ट्रिय सहयोग बिना अफगानिस्तान सरकार अस्तित्वको खतरामा रहेको भन्दै अफगानिस्तानका अधिकारीहरूले गम्भीर चिन्ता व्यक्त गरेका थिए तर नयाँ अमेरिकी राष्ट्रपति जो बिडेनले अप्रिल, २०२१ मा सबै अमेरिकी सेना सेप्टेम्बर, ११ सम्म फिर्ता हुने घोषणा गरे। दुई दशकसम्म चलेको युद्धमा अमेरिकी महाशक्तिलाई छोडेर तालिबानले ठूलो क्षेत्र कब्जा गर्यो। अमेरिकी सेना फिर्ता भएपछि काबुलमा सरकार अस्थिर हुने खतरा छ। २००१ पछि पहिलो पटक तालिबान यति बलियो देखिएको छ। नेटो को अनुमान अनुसार, समूह को पूर्णकालिन लडाकुहरुको संख्या वर्तमान मा लगभग ८० हजार छ।

स्पष्ट त छैन कति क्षेत्र हाल तालिबान द्वारा नियन्त्रित छ तर यो अनुमान गरिएको छ, देश को एक पाँचौ र एक तिहाई बीच तालिबानहरुद्वारा नियन्त्रित छ। तालिबानले द्रुत रुपमा अगाडि बढाएका गतिविधि धेरैका लागि चिन्ताजनक छ। देश गृहयुद्धको दिशामा जाँदैछ भन्दै अफगानिस्तानमा अमेरिकी नेतृत्वको मिसनका कमाण्डर जनरल अस्टिन मिलरले जुन महिनामा नै चेतावनी दिएका थिए। जुन महिनामा अमेरिकी गुप्तचर निकायले अफगानिस्तानको अवस्थाको मूल्यांकन गरेको थियो। अमेरिकी सैनिकहरुको प्रस्थानको छ महिना भित्र अफगानिस्तान सरकारको पतनको अनुमान गरिएको थियो। तर छ महिना लागेन।

साउन ३२, २०७८ सोमबार १५:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।