सहकारीलाई अर्थमन्त्रीको प्रश्न : लगानी के मा केन्द्रित छ?

काठमाडौँ : अर्थमन्त्री जनार्दन शर्माले घरजग्गा वा गाडी खरिदमा केन्द्रित भएर लगानी नगर्न बचत तथा ऋण सहकारीहरूलाई आग्रह गरेका छन्।
मन्त्री शर्माले सोधे, ‘तपाईँहरूको लगानी केमा केन्द्रित छ? घर जग्गा वा गाडी खरिदमा हो भने त्यसको कुनै अर्थ छैन।’
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड नेफ्स्कुनको ३४ औँ स्थापना दिवसमा अर्थमन्त्री शर्माले उपभोगमुखी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्ने योजना आफूले बनाएको बताए। उनले त्यसमा सहयोग गर्न सहकारीहरूलाई आग्रह गरे।
उनले कम्तीमा लगानीको ६० प्रतिशत हिस्सा उत्पादनमा लगाउन आग्रह गरेका हुन्। अर्थमन्त्री शर्माले ऋणमा लिने ब्याज घटाउन भनेका छन्।
सहकारीका संस्थापकहरूले नै जनताको सम्पत्ति हिनामिना गर्ने क्रमलाई रोक्न नेफ्स्कुनले भूमिका खेल्ने उनले बताए। अहिलेसम्म स्थिरीकरण कोष खडा नभएकोप्रति असन्तुष्टि व्यक्त गर्दै उनले एक महिनाभित्र खडा गरेर आफूलाई जानकारी गराउन आग्रह गरे।
सङ्घमा ४ हजार प्रारम्भिक संस्थाहरू तथा प्रदेश र जिल्ला बचत सङ्घहरूमार्फत ७ हजारभन्दा बढी बचत तथा ऋण सहकारी संस्थाहरू आबद्ध रहेका नेफ्स्कुनले जनाएको छ।
साउन ३२, २०७८ सोमबार ११:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।