भजनीका स्थानीयलाई खेतको आली भयो बाटो

धनगढी : कैलाली हुँदै बग्ने कान्द्रा नदीमा आएको बाढीले भजनी नगरपालिका वडा नम्बर ५ लालबोझीस्थित हुलाकी सडक भत्काएको छ।
स्थानीय सिताराम चौधरीले नदीको बाढीले सडक भत्काएको बताए। बाढीले एक सय मिटर सडक बगाउँदा स्थानीय खेतमा बनाइएको आलीबाट हिँडडुल गरिरहेका छन्।
उनले कान्द्रा नदीले हरेक वर्ष सडक भत्काउँदा स्थानीय खेतको आलीबाट हिँडडुल गर्नु परिरहेको गुनासो गरे।
०६६/६७ मा सुरु गरिएको हुलाकी सडक आयोजनाअन्तर्गत भारत सरकारको सहयोगमा धनगढीको क्याम्पस चौकदेखि टीकापुरको खक्रौलासम्म ६२ किलोमिटर सडक निर्माण गरिएको थियो।
६२ किलोमिटरमध्ये दुई किलोमिटर वसन्त क्षेत्रभित्र परेपछि सो को काम अघि बढ्न सकेको थिएन। अहिले नेपाल सरकारले सो सडक स्तरोन्नति गर्ने भनेपछि तीन चरणमा अघि बढाइएको छ।
साउन ३१, २०७८ आइतबार २१:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।