मौद्रिक नीति सार्वजनिक हुनु अगावै बाहिरिएकोमा इम्सनको ध्यानाकर्षण

मौद्रिक नीति सार्वजनिक हुनु अगावै बाहिरिएकोमा इम्सनको ध्यानाकर्षण

काठमाडौंः नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गर्न लागेको मौद्रिक नीति बाहिरिएको छ। 

आर्थिक वर्ष ७८÷७९ मौद्रिक नीति सार्वजनिक हुनु अगावै नै केही सीमित सञ्चारमाध्यमबाट अनाधिकृत रुपमा सार्वजनिक भएको भन्दै इकोनोमिक मिडिया सोसाइटी नेपाल–इम्सनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 

इम्सनले नेपाल राष्ट्र बैंक जस्तो स्वायत्त संस्थाले यसरी मौद्रिक नीति जस्तो दीर्घकालीन प्रभाव राख्ने नीति आफू अनुकुल र आफूनिकट विभिन्न  सञ्चारमाध्यमहरुलाई वितरण गर्नु गम्भीर विषय भएको बताएको छ।

मौद्रिक नीति सञ्चालक समितिमा छलफल भई पारित भएपछि मात्र सार्वजनिक गरिने हुनाले सञ्चालकहरुलाई मात्र यसबारेको जानकारी रहन्छ। सञ्चालक वा अन्य उच्च पदाधिकारीबाट नै मौद्रिक नीति चुहावट गरेको देखिएकोले यसबारे छानविन गर्न इम्सनले जोडदार माग समेत गरेको छ। 

‘राष्ट्र बैंकको यस्तो कदमबाट नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ३८ को उपदफा १ विपरित रहेको छ। उक्त दफा अनुसार राष्ट्र बैंकका सञ्चालकले पदीय रुपमा काम गर्दा प्राप्त हुन आएको कुनै प्रकाशित वा अप्रकाशित गोप्य जानकारी वा सूचना अरुलाई दिन वा सोको भेद खोल्न नपाउने व्यवस्था हुँदाहुँदै सूचना चुहावट हुनु गम्भीर विषय रहेको छ,’ इम्सनका महासचिव लोचा खतिवडाले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘यस विषयमा छानविन गरी सूचना चुहावट गराउने सञ्चालकमाथि कारबाही गरी राष्ट्र बैंकको स्वायत्तता जोगाइराख्न हामी जोडदार माग गर्दछौं।’

साथै मौद्रिक नीतिको प्रत्यक्ष प्रसारण गर्ने जिम्मा केही निजी सञ्चारमाध्यमलाई मात्र प्रदान गरिएको र अन्य सञ्चारमाध्यम विभेद गरिएकोप्रति पनि इम्सनले आपत्ति जनाएको छ।

साउन २९, २०७८ शुक्रबार १६:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।